Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बिर्तामोड, १९ जेठ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न खतराको संकेत स्वरुप शुरु गरिएको नागरिकको घरमा रातो झण्डा राख्ने कार्यले सकारात्मक सन्देश नदिने भन्दै गुनासो बढेपछि बिर्तामोड नगरपालिकाले त्यसको विकल्प खोज्ने भएको छ ।

भारत लगायतका देशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमणको आशंका गरिएका व्यक्तिको घरमा संकेत स्वरुप शुरु गरिएको रातो झण्डा राख्ने कार्यको प्रभाव र विकल्प वारे सोमवार सरोकारवालाबीच छलफल भयो । भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा सम्बद्ध पक्ष विकल्प खोज्न सहमत भएका हुन् ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख तथा नगर स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिकी संयोजक पवित्रा महतारा प्रसाईंले रातो झण्डाको विरोध भएपछि अब उपयुक्त विकल्पको खोजी गरिने बताइन् । रातो झण्डा राख्ने कार्यको उद्देश्य सकारात्मक भए पनि यसले विविध पक्षमा पार्ने प्रभाव र विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई मनन् गरी विकल्प खोज्न सरोकारवालाहरु सहमत भएका हुन् । नगरपालिकाले विभिन्न वडाका २० वटा घरमा झण्डा राखेको छ ।

देश बाहिरबाट आएर होम क्वारेन्टाइनमा बसेका र सम्भावित संक्रमितको घरमा संकेत स्वरुप झण्डा राखिन थालिएको नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयन्त्रका स्वास्थ्य संयोजक ओम खड्काले बताए । झण्डा राखिएका घरको व्यक्तिको १४ दिनभित्र कोरोना परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए झण्डा निकाल्ने कार्ययोजना बनाई नगरपालिकाले शुरु गरेको अभियान बारे विभिन्न क्षेत्रबाट विरोध र गुनासो आएपछि विकल्पको बारेमा छलफल भएको हो । सुरक्षित रहने संकेत र स्वास्थ्यकर्मीको सहजताका लागि झण्डा राखिएको नगर उपप्रमुख महताराको भनाइ छ । हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्न नहुने भन्दै उनले नकारात्मक सन्देश प्रवाह भएको अवस्थामा विकल्प खोजिने बताइन् ।

संयन्त्रका स्वास्थ्य संयोजक खड्काले विदेशबाट आएका व्यक्ति र सम्भावित संक्रमितको घर शिलको सट्टा झण्डा राखेको बताउँदै अब विभिन्न क्षेत्रबाट गुनासो र विरोध बढेसँगै विकल्प खोजिने बताए । उनले पीसीआर परीक्षण नभइञ्जेलका लागि झण्डा राखिएकोे बताए ।

मानवअधिकार सञ्जाल झापाका अध्यक्ष तथा मानवअधिकार रक्षक परिषद् १ नं। प्रदेश उपाध्यक्ष विष्णु खरेलले कोरोना महामारीलाई लक्षित गरी नागरिकको घरमा संकेत स्वरुप झण्डा राख्नु अन्तर्राष्ट्रिय मानवीय कानून, नेपालको संविधान विपरीत भएको भन्दै त्यसलाई तत्काल सच्याउन आग्रह गरेका छन् । झण्डा वा कुनै सार्वजनिक संकेतको सट्टा नागरिक स्तर तथा संयन्त्रबाट निगरानी बढाउनुपर्ने उनको सुझाव छ । रातो झण्डा राख्ने कार्यले विभेद र अपहेलनासँगै नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको हनन भएको भन्दै अधिकारकर्मीहरुले यसको विकल्पको खोजीमा जोड दिए ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्ड विपरीत व्यक्तिको पहिचान खुल्ने गरी घरमा झण्डा राखिनु त्रुटीपूर्ण भएको भन्दै तत्काल झण्डा निकाल्नुपर्ने सुझाव दिएका छन् । यसले समाजमा त्रास, आतंक र मानसिक प्रभाव पर्ने भन्दै उनले त्यस्ता घरको पहिचानका लागि आन्तरिक रुपमा विभिन्न विधि अवलम्बन गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा। रुपक खनालले झण्डा गाड्नु मानवअधिकार तथा सामाजिक न्यायको सिद्धान्त विपरीत हुने र यसले विभेद तथा सामाजिक अपहेलनाको वातावरण तयार गर्ने बताए । उनले झण्डाको विकल्पमा अरु संकेत प्रयोग गर्न आग्रह गरेका छन् ।

महिला अधिकारकर्मी अधिवक्ता कविता शर्माले कोरोनाको सम्भावित संक्रमणलाई लक्षित गरी नागरिकको घरमा खतराको प्रतीक स्वरुप रातो झण्डा राखिँदा त्यसले आम नागरिकसँगै महिला तथा बालबालिकाको मानसिकतामा गम्भीर प्रभाव पार्ने बताइन् । यसले नागरिकको गोपनीयताको हक हनन् गर्नुका साथै समुदायमा त्रास बढाउने भन्दै शर्माले उपयुक्त विकल्पको खोजी गर्न सुझाएकी छिन् । संवाद समूह झापाले संयोजन गरेको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
यसअघि मेचीनगर नगरपालिकामा विदेशबाट आउने व्यक्तिको घरमा रातो क्रस संकेत दिने अभियान पनि नागरिकको विरोध पछि रोकिएको थियो ।
कोरोना महामारीमा शारीरिक दुरी राख्नुपर्ने तर सद्भाव र माया बढाउनुपर्नेमा समेत छलफलमा जोड दिइएको थियो । संक्रमति होस् या त आशंका गरिएका व्यक्ति जो कोहीलाई छिछि दुरदुर नगर्न, एकअर्कामा माया र सद्भाव बाँड्न अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया