Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

रौतहट, १७ जेठ । प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एकजना वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणको आरोपमा गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको विभिन्न सहरबाट गुजरा आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाअध्यक्ष गिरिले माबी कनकपुरमा लग्नु पर्छ भनी अडान गरेपछि शुक्रबार साँझ विवाद सुरु भएको थियो ।

बिहिवार साँझ आएका उनीहरुलाई शुक्रबार साँझ सिम्राभवानिपुरस्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडाअध्यक्ष गिरिबीच भनाभन भएको स्थानीय शेख बदरुदिनले बताए ।

लगत्तै प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले भीड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडाअध्यक्ष पवनराज गिरि पक्षका मानिसहरुले प्रहरीटोली माथि ढुङ्गा मुढा सुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

आक्रमणमा इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष गिरि पक्राउ परेको र एकजना अर्का फरार रहेको उनले बताएका छन् ।

गिरि हाल जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिए । यसअघि रौतहटको इशनाथ,मौलापुर र कटहरियामा प्रहरी टोलीमाथि विभिन्न बहानामा आक्रमण भएको थियोे ।

तपाईको प्रतिक्रिया