Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

युएइमा रहेका २८ जना गर्भवती र कुवेतमा माफी पाएर बसेका पहिलो प्राथमिकतामा

काठमाडौँ, १६ जेठ २०७७। सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ ।

समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् । समिति स्रोतका अुनसार युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक ३ हजारदेखि ३५ सय जनालाई ल्याइने पनि स्रोतले बतायो ।

स्रोतका अनुसार आवश्यकता अनुसार केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई उतैको देशसँग समन्वयगरी ल्याइने छ । नेपाल आएपछि दुई दिन उनीहरुले आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्ने छ । दुई दिन काठमाडौंमा बसेपछि सबैलाई उनीहरुकै घर भएको स्थानीय तहका क्वारेन्टाइनमा बस्नेगरी पठाइनेछ ।

तपाईको प्रतिक्रिया