Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

चितवन, १५ जेठ २०७७ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका कार्यालयको भवनमा आगलागी भएको छ ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार कार्यालयमा बिहीबार दिउँसो ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा १८ कोठे भवन ध्वस्त भएको हो । कार्यालयको स्टोर रूममा विद्युत् सर्ट हुँदा आगलागी सुरु भएको र त्यहाँ इन्टर्भर राखिएका कारण पड्किएर पूरै भवन ध्वस्त भएको अध्यक्ष मोक्तान बताए ।

०७२ को भूकम्पपछि ग्रामीण क्षेत्रमा जोखिमका वेला बच्न नेपाली सेनाले उक्त भवन निर्माण गरेको थियो । सेनाले निर्माण गरेको भवनमा स्थानीय तह गठनसँगै गाउँपालिकाको कार्यालय राखिएको थियो । ‘फाइबर र प्रिफ्याबबाट निर्माण गरिएको भवन भएका कारण आगलागी हुँदा छोटो समयमै सबै ध्वस्त भयो,’ उनले भने, ‘सबै कागजातसहित कुनै पनि भौतिक संरचना आगलागीबाट बचेको छैन ।

गाउँपालिकामा भने अझै पनि विद्युत् पुगेको छैन । त्यसकारण सौर्य ऊर्जाको प्रयोग गर्दै आएको बताउँदै अध्यक्ष मोक्तानले आज चर्को घाम लागेका कारण सोलार बढी चार्ज भएर सर्ट भएको हुन सक्ने अनुमान गरिएको बताए । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका वेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगलागी भएको थियो । आगलागी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया