Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १२ जेठ । मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा जेठ ४ गते नै मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टी भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।

‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ।’

कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको जिज्ञासामा उनले नारायणीको ल्याब र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए ।
‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’, उनले भने ‘हामी थप बुझ्दैछौँ ।’

स्रोतका अनुसार नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते नै परिवारलाई शव जिम्मा लगाएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिँदा कमजोरी देखिएको भन्दै यसबारे छानबिन सुरु गरिएको बताए ।

उनका अनुसार संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो ।

मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो । अस्पतालबाट शव बुझेकै दिन आफन्तले बृद्धको अन्तिम संस्कार गरेको बुझिएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया