Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, ९ जेठ । रोजगारीको खोजिमा भारत तर्फ गएका नेपाली नागरिकहरु आफ्नो देश फर्कदा झापाको दक्षिणी क्षेत्रका क्वारेन्टाइनमा ह्वातै संख्या बढेको छ। झापाको दक्षिणी क्षेत्रको गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र स्थापना गरिएका क्वारेन्टाइनमा एकाएक ठुलो संख्यामा थप भएको छ।

भारत संग सिमाना जोडिएको गौरीगंज गाउँपालिकाले नवनिर्मित स्वास्थ्य चौकी भवन गौरीगंज बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरेको छ। बिहिवार साँझसम्ममा क्वारेन्टाइनमा १८ पुरुष र २४ महिला सहित ४२ जना पुगेका छन।

भारतको महाराष्ट्र,देहरादुन,कलकत्तामा रोजगारीका लागि गएका नेपालीहरु घर फर्कदा उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको हो। उनीहरु गौरीगंज गाउँपालिकाको फत्तेहपुर,बैरिया,महाभाराका साथै काँकडभिट्टा नाकामा अलपत्र परेका थिए। गौरीगंज गाउँपालिका भित्र बसोबास गर्ने नागरिकहरुलाई गाउँपालिकाले नाकाबाट उद्वार गरेर क्वारेन्टाइनमा राखेको हो।

एकैचोटी ठुलो संख्यामा भारतीय भुमिबाट नेपाल प्रवेश गर्दा गौरीगंज गाउँपालिकाले पहिलो पटक स्थापना गरेके स्वास्थ्य चौकी भवनको क्वारेन्टाइन खचाखच भरिएको र अब थप भएमा गौरीगंज बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिने गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले जानकारी गराए। गौरीगंज गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य चौकी भवनको क्वारेन्टाइनले थाम्न नसक्ने अवस्था भएपछि बहुमुखी क्याम्पसमा अर्को क्वारेन्टाइन स्थापना गरिएको मिश्रले बताए।

त्यसैगरी गौरादह नगरपालिकाले वडा नं.७ को नवनिर्मित स्वास्थ्य चौकी भवनमा स्थापना गरेको क्वारेन्टाइनमा १३ जना रहेको गौरादह नगर स्वास्थ्य सह संयोजक गोबिन्द श्रेष्ठले जानकारी गराए।

भारतको सिक्किम र मद्रासमा रोजगारीका लागि गएका नेपाली नागरिकहरु नेपाल फर्कदा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो। नगरपालिकाले २० बेड क्षमताको स्थापना गरेको क्वारेन्टाइनमा शुक्रबार ६ जना थप हुने नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले जानकारी गराए। गौरीगंज गाउँपालिकाको कोरोवारी नाकामा ४ जना र काँकडभिट्टा नाकामा रहेका २ जनालाई आज (शुक्रबार) उद्वार गरेर क्वारेन्टाइनमा राखिने स्वास्थ्य संयोजक भट्टराईले बताए।

पछिल्लो समय भारत गएका नेपाली नागरिकहरु नेपाल फर्कदा बुधबार मेचि नगरबाट उद्वार गरि ल्याएका ११ थप हुदा संख्या बढेर १३ जना पुगेको थियो। शुक्रबार ६ जना थप हुने भएपछि १९ जना क्वारेन्टाइनमा हुनेछन्। कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा भाइरसको जोखिमबाट बच्न भारतीय भुमिबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुलाई पालिकाहरुले सिमा क्षेत्रबाट उद्वार गरि क्वारेन्टाइनमा राखेका हुन्।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया