Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

लकडाउन भर विद्युत महशुल काउन्टर बन्द गर्न स्थानीयको माग

अनलाइनविचार
गौरादह, ७ जेठ २०७७ । झापाको गौरादह नगरपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । लकडाउन खुकुलो पारिएपछि देखिएको भिडभाड र लापरवाहीको कारण गौरादहमा जोखिम बढेको हो ।

नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रमा दैनिक सयौंको संख्यामा उपभोक्ताहरुको भिडभाड हुने गरेको छ ।

भारत संग सिमा-नाका जोडिएको गौरीगंज गाउँपालिका र कमल गाउँपालिका समेत सेवा क्षेत्र भएको गौरादह वितरण केन्द्रले लकडाउनलाई कमजोर पार्दै उपभोक्ताहरुबाट महशुल उठाउने नाममा असुरक्षित जमघट गराउने गरेको पाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रमा महशुल तिर्नेको भिड । तस्वीर- झगेन्द्र खड्का

टाढा-टाढाबाट विद्युत उपभोक्ताहरु महशुल तिर्न प्राधिकरण कार्यलय आउन थालेपछि गौरादह डिपु चोक तथा बजार क्षेत्रको व्यवसायीक चहलपहल समेत बढ्नुको साथै लकडाउन ब्यवस्थापन पनि कमजोर देखिएको छ ।

स्वास्थ्य सावधानी अपनाउन सामाजिक दुरी कायम गर्ने भनिएता पनि महशुल तिर्न चर्को घाम र कार्यलयको साँघुरो प्राङ्गणमा उपभोक्ताहरुको भिड अस्तब्यस्त हुने गरेको छ ।

दैनिक ठूलो संख्यामा प्राधिकरणको कार्यलय आसपासमा भिडभाड देखिएपछि स्थानीयहरुले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै आपत्ति समेत जनाएका छन् ।

देशमा तिब्र रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको र झापामा समेत संक्रमित १२ जना पुगिसकेको अवस्थामा विद्युत प्राधिकरण गौरादहमा दैनिक हुनेगरेको असुरक्षित भिडभाडले स्थानीयहरु त्रासमा रहेको गौरादह २ का टोल समिति सचिव राजकुमार दाहालले बताए ।

टोल समितिको अगुवाइमा लकडाउन अवधीभर महशुल काउण्टर संचालन नगर्न र लकडाउनको समयको महशुलमा कुनैपनि हर्जाना नलिन भन्दै कार्यलय प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएको सचिव दाहालले अनलाइन विचारलाई जानकारी गराएका हुन् ।

प्राधिकरणको कार्यलयमा महसुल बुझाउन उपभोक्ताहरुको अव्यवस्थित भिडभाड भएपछि स्थानीयहरुले महसुल काउन्टर लकडाउन अवधीभरका लागि बन्द गर्न माग गरेका छन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
वितरण केन्द्र गौरादहका प्रमुखलाई ध्यानाकार्षण पत्र हस्तान्तरण गर्दै

गौरादह नगरपालिकाका प्रवक्ता तथा वार्ड नं १ का अध्यक्ष नगेन्द्र भण्डारीकोको रोहबरमा स्थानीयको तर्फबाट मागपत्र वितरण केन्द्र प्रमुखलाई बुझाएको टोल समिति अध्यक्ष हेमचन्द्र घिमिरे राजुले बताए । महशुल काउण्टर तत्कालका लागि बन्द गर्न र लकडाउनको पालना गर्न गराउन प्राधिकरणलाई जिम्मेवार बन्न आग्रह समेत गरिएको अध्यक्ष घिमिरेले जानकारी गराए ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा सरकारी तवरबाट लकडाउन गरि उच्च सतर्कता सहित घरमा बस्न र भिडभाडमा नजान आव्हान गरेपनि त्यसको उल्लङघन गर्दै गौरादहमा उपभोक्ताको भिडभाड र सामाजिक दुरि पालना नहुदा समेत प्राधिकरण तथा स्थानीय सरकार बेखवर देखिएको छ।
लकडाउन अवधिभरी भिडभाड गर्न नमिल्ने तथा पूर्ण स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले महशुल संकलनको काउण्टर संचालन नगर्नु उपयुक्त हुने प्रवक्ता भण्डारीले बताए । महशुल काउण्टर संचालन गर्नै परेमा भिड नहुने गरी, लकडाउनको मापदण्ड अनुसार सामाजिक दुरी सहित व्यवस्थित तरिकाबाट संचलन गरेमात्र जोखिम नहुने उनले वितरण केन्द्रलाई सुझाव गरेका छन् ।

बिधुत प्राधिकरण शाखा गौरादहमा महसुल काउन्टर ८ बजे बिहान खुल्ने भएपनि उपभोक्ताहरु बिहान ७ बजेदेखि नै काउन्टर अगाडि लाइनमा उभिएका हुन्छन्। ढिलो गएमा महशुल बुझाउने पालो नआउने र हर्जना तिर्नु पर्ने भन्दै बिहान सबेरै प्रधिकरण कार्यलय पुगेर उपभोक्ताहरु सामाजिक दुरी कायम नगरी लाइनमा उभिन बाध्य भएका हुन।

माथिबाट विद्युत महशुल संकलन गर्न काउन्टर संचालनको निर्देशन भएकोले वितरण केन्द्रले महशुल बुझ्न् थालेको नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रका प्रमुख सरोज कुमार शहाले बताए। उपभोक्ताहरुलाई सामाजिक दुरि पालनाको अधिकतम प्रयत्न कार्यलयबाट भैरहेको र भिड ब्यवस्थापनमा प्रहरीबाट सहयोग समेत लिने गरेको प्रमुख शाहको भनाइ छ । आक्रोशित स्थानीयको मागपत्र बुझ्दै कार्यलयको उपल्लो निकाय समक्ष सो मागपत्रको बारेमा जानकारी गराउदै स्थानीयको माग पूरा गर्ने पहल गर्ने शाहले बताए ।

बिद्युत प्राधिकरणले कर्मचारीको सुरक्षाका लागि कार्यलय भित्र सम्पूर्ण बन्दोबस्त मिलाए पनि लाइनमा उभिने उपभोक्ताको सामाजिक दुरी कमयम गराउन र भिड नियन्त्रण गर्न नसकेको देखिन्छ।

कार्यलय भित्र प्रवेश गर्दा मुल गेटमा उपभोक्तालाई थर्मल गनबाट तापक्रम नापिन्छ भने सेनेटाइजर लगाएर मात्र भित्र प्रवेश गर्ने अनुमति दिइन्छ। बिधुत प्राधिकरणले भने चैत महिना देखि मिटर रिडिङ गरेको छैन ।

जेठ महिनामा भने प्राधिकरणले सिंचाइको मिटर रिडिङ गरेपनि घरको मिटर रिडिङ गरेको छैन। जेठ महिनामा सिंचाइको मिटर रिडिङ गरेपछि उपभोक्ताले घरको मिटर रिडिङ नगरेपनि पुरानो बिल बोकेर मिटरमा भएको अंक हेरेर बिधुत महसुल बुझाइ रहेका छन्।

बिद्युत प्राधिकरण भने कोरोना भाइरस संक्रमणका डरले घरको मिटर रिडिङ गर्न सकेको छैन भने उपभोक्ताहरु भाइरसको कुनै प्रवाह नगरि भिडभाडमा उभिएर महसुल बुझाइ रहेका छन्।

तपाईको प्रतिक्रिया