Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ६ जेठ २०७७ । दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका ती युवक जेठ १ गते गाउँ पुगेका थिए ।
सोमबार बिहान प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वीरेन्द्रनगरमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

सोमबार साँझ भेरी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै मुलुकका सातै वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि प्रदेश २ मा १३३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा ४३ जनामा संक्रमण देखिएको छ भने वाग्मती प्रदेशमा १९ जनामा स‌ंक्रमण पुष्टि भएको छ । त्यसैगरी सुदूरपश्चिममा ५(सबै निको भइसकेका छन्), गण्डकीमा ३ र कर्णालीमा एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीका एक जना पुरुषमा संक्रमण देखिएसँगै तराईका २१ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका जिल्लामध्ये सबैभन्दा बढी प्रदेश ५ को बाँकेमा ९३ जना संक्रमित देखिएका छन् । त्यस्तै प्रदेश २ को पर्सामा ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । सोमबार मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म मुलुकका ३४ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया