Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौ, ५ जेठ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने तर अझै ठोस योजना बनाएपछि मात्रै निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई प्राथमिकता दिने भन्नेबारे सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो ।

‘विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तर कति मान्छे ल्याउनु पर्ने हो त्यसको राम्ररी होमवर्क गर्ने । ल्याएपछि उनीहरूलाई कसरी क्वारेन्टाइनमा राख्ने, कसरी कोरोना परीक्षण गर्ने र उनीहरूको अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाउने । त्यसपछि सम्बन्धित देशका प्रतिनिधिहरूसँग कुराकानी गर्ने,’ मन्त्री भट्टराईले भने, त्यसपछि कूटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने भन्ने भएको छ । तर, त्यसको एउटा ठोस प्रस्ताव आएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

यस्तो योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल अफ्ठेरोमा परेका नेपालीलाई उद्दार गर्ने प्रस्तावित योजनाबारे बताएका थिए । तर, कहिलेसम्म ल्याउने भन्नेबारे बैठकले निर्णय गर्न सकेन ।

यसअघि संसदीय समितिले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि योजना तयार पार्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यसका लागि विभिन्न मुलुकमा रहेका नेपालीलाई वर्गीकरण गर्नुका साथै स्वदेशमा ल्याएपछि क्वारेन्टाइनमा राखेर घर पठाउनेसम्मका योजना तयार पार्न समितिले सरकारलाई निर्देशन दिएको थियो ।

स्थलमार्ग भएर भारतबाट आउने नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर खोलेर परीक्षण गरी घर पठाउने व्यवस्था गर्न पनि संसदीय समितिले निर्देशन दिएको थियो ।

भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ सेवा खुला भएलगत्तै २ लाख बढी र त्यसपछि बाँकी तीन लाखभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया