Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, ४ जेठ २०७७ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना देखिएको हो ।

विराटनगर १५ का संक्रमित विराटनगर महानगरपालिकाका सफाई कर्मचारी भएको बताइएको छ । त्यस्तै विराटनगर ६ की महिलामा पनि संक्रमण देखिएको हो ।

विराटनगर महानगरपालिकाले संकास्पद ४३ जनाको स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षणका लागि पठाएको थियो । कोशी अस्पतालमा परीक्षणका लागि धेरै स्वाब जम्मा भएको र धरानको ल्याब खाली हुँदा परीक्षण गर्न उतै पठाइएको थियो ।

अहिले संक्रमितहरुसँग निकट सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुलाई परीक्षणको दायरामा ल्याउनका लागि ट्रेसिङको काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया