Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।
धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजेटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् ।

२५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ ।

महिलाको सम्पर्कमा आएका छ जना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २० र ६५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया