Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २४ वैशाख २०७७ । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका भित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानिय प्रशासनसँग अनुमति लिइएको जानकारी दिए । बुधबार चमति एकिकृत जग्गा एकिकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समय भित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

उक्त आयोजना २०५९ देखि सुरु भएपनि हालसम्म निर्माणाधिन अवस्थामै रहेपछि सरकारले चासो दिन थालेको हो । कार्यक्रममा चमति एकिकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएको मितिमै आयोजना समापन गर्ने प्रतिवद्वता जनाए ।

अब कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं- राज्यमन्त्री मान्नधर

मन्त्री मानन्धरले लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको बताउँदै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने बताए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम सार्थक बनिरहेको बताउँदै मन्त्री मानन्धरले अब बिकासका गतिविधिलाई पनि तिब्रता दिइने बताए ।

मन्त्री मानन्धरले बेरोजगार बनेका श्रमिकहरुलाई काम दिन सकिए आर्थिक गतिविधि पनि चलायमान हुने बताए । आगामि आर्गिक वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव देखिए पनि विकास आयोजनाहरुको बजेट व्यवस्थापनमा कुनै समस्या नहुने मन्त्री मानन्धरको तर्क छ ।

सहरी विकास मन्त्रालय मार्फत् आगामी वर्ष कम्तिमा एक लाख विपन्न परिवारको घरमा लगाइएको फुसको छानो विस्थापन गराइने मन्त्री मानन्धरले जानकारी दिए । मन्त्री मानन्धरले आगामी वर्ष कम्तिमा एक लाख फुस र खरको छानो हटाएर जस्तापाताको छानो राखिने जानकारी दिए ।

यस्तै १६५ वटै निर्वाचन क्षेत्रका सहरी क्षेत्रको स्तर उन्नतिका लागि चक्रपथको परिकल्पना गरिएको मन्त्री मानन्धरले जानकारी दिए । यस्तै उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी प्रस्तावित टोखा-छहरे सुरुङमार्गदेखि निर्माणाधिन नौविसे सुरुङमार्ग सम्म वैकल्पिक चक्रपथसहितको नयाँ सहर बनाउने तयारीमा मन्त्रालय रहेको छ । दुबै सुरुङ मार्गको मुखमा तथा फुट्रयाकको शुन्य विन्दुमा सुख्खा बन्दरगाह निर्माणबारे पनि छलफल चलिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।

सहरी विकास मन्त्रालयले बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्डको कामलाई पनि निरन्तरता दिने भएको छ । त्यसका लागि आवश्यक सबै प्रवन्ध मिलाईएको छ । यस्तै बालाजु बाईपास क्षेत्रको सडकहरु विस्तारको कामलाई पनि तिब्रता दिईएको छ ।

तपाईको प्रतिक्रिया