Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २२ वैशाख । सरकारले भारतीय सीमा क्षेत्रमा सशस्त्रका ३ सय ७८ बिओपी थप्ने तयारी गरेको छ ।
भारततर्फको सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) ५ सय पुर्‍याउने गरी खाका पेश गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोलीलाई मन्त्रालयमै बोलाएर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी संख्या ५ सय पुर्‍याउने गरी बिस्तृत खाका पेश गर्न निर्देशन दिएका हुन् ।

स्थायी बिओपी संरचना विस्तार गर्न भन्सारको स्वामित्वमा भएका १ सय ११ स्थानको जग्गा सशस्त्रलाई उपलव्ध गराउने गृहमन्त्री थापाले बताएका छन् । सशस्त्रले प्रस्तावित बिओपीका लागि करिब ९ हजार जनशक्ति थप्नुपर्ने प्रस्ताव राखेको छ ।

१ हजार ८ सय ८० किमि लम्बाईको नेपाल भारत(सीमा क्षेत्रमा नेपालतर्फ सशस्त्र प्रहरीका स्थायी पोष्टको संख्या हाल १ सय २२ छ । लकडाउनपछि अस्थायी रुपमा १ हजार २ सय १३ चेकप्वाइन्टमार्फत् नाका सिल गरिएको छ । प्रहरीले पछिल्लोपटक ४ सय ७० चेकप्वाइन्ट मार्फत सीमा सुरक्षा गर्दै आएको छ ।

सोमबार गृहमन्त्री थापाले अब स्थायी किसिमका ५ सय बिओपी रहने गरी भौतिक र जनशक्तिको खाका पेश गर्न सशस्त्रलाई निर्देशन दिएका हुन् । भारतले नेपालतर्फ आफ्नो सीमा सुरक्षार्थ ५ सय ३० वटा पोष्टमा सीमा सुरक्षा बल (एसएसबी)को फौज खटाउँदै आएको छ । भारतले प्रत्येक २ देखि ३ किमि दुरीमा बिओपी युनिट तैनाथ गराउँदै आएकोमा लकडाउन अघिसम्म सशस्त्रले १२ देखि १५ किमिको दुरीमा सुरक्षा फौज खटाउने गरेको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया