काठमाडौं, १९ वैशाख २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गरे ।

अध्यक्ष दाहालले राजदूतमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

सो अवसरमा चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष दाहाललाई गराएका थिए।

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गरेका छन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत छन् ।

तपाईको प्रतिक्रिया

Comments