Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्मको अध्ययनले आमाले शिशुलाई स्तनपान गराउँदा कोरोनाको संक्रमण नसर्ने भएकाले शंका नगरिकन स्तनपान गराउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बालबालिकालाई स्तनपाउन महत्वपूर्ण भएकाले कोभिड देखिएका र क्‍वारेन्टाइमा रहेका महिलाहरुले शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउनु आवश्यक भएको बताए । उनले लक्षण देखिएका र क्‍वारेन्टाइनमा बसिरहेका आमाले स्तनपाउन गराउँदा वा बालबालिकासँग सम्पर्कमा आउँदा मास्क लगाउने, हात धुने र केही समस्या परे स्थानीय स्वास्थ्य संस्था साथै मन्त्रालयको कल सेन्टरबाट जानकारी लिन आग्रह गरे ।

यस्तै, मन्त्रालयले पुसदेखि वैशाखसम्म ७ जिल्लामा दादुराको संक्रमण देखिएको बताएको छ । मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झलक गौतमले झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखा गरी १८५ जनामा दादुराका देखिएको छ ।

उनले ४ महिनाको बालबालिकादेखि ४० वर्षसम्मका खोप नपाएका मानिसहरुमा दादुराको संक्रमण देखिएको बताए । यही चैतमा धादिङमा २ जना बालबालिको मृत्यु समेत भएको छ । डा.गौतमले बिहीबार वैशाख १७ देखि २३ सम्म दादुराको प्रकोप रहेको क्षेत्रमा ६ महिनादेखि १५ वर्षसम्म करिब २० हजार जनसंख्यालाई दादुरा रुबेलाको खोप दिन सुरु गरिएको जनाए ।

उनले तत्काल खोप तथा खोपजन्य सामग्रीको अभाव नभएको बताउँदै ३ महिनाका लागि मौज्दात रहेको बताए । मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५७ छ जसमा १६ जना निको भइसकेका छन् । धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ८ जना तथा विराटनगरमा ३१ जना गरी ४१ जनाको उपचार भइरहेको छ र सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ४६ हजार ८ सय ६० नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १२ हजार ११ परीक्षणहरु भएको जनाएको छ । हालसम्म कुल ५८ हजार ८ सय ७१ परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८० जना रहेका छन् । छन् । क्‍वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया