Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक, १७ वैशाख । दमक नगरपालिकाका ६२ वर्षीय वृद्धको सम्पर्कमा आएका ५७ जनाको पीसीआर परीक्षण नेगेटिभ आएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको दमककी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

दमक–३ का वृद्धमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार नगरपालिकाको चिकित्सकसहितको टोलीले ७४ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । जसमध्ये वडा नं. ३, ६ र ९ का ५४ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रवक्तासमेत रहेकी अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएकी हुन् ।

वृद्धको सम्पर्कमा आएको भनी छिमेकी कमल गाउँपालिकाले पनि स्थानीय ३ जनाको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआरका लागि धरान पठाएको थियो । उनीहरूको पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दमक नगरपालिकाले ३ नम्बर वडालाई गरेको ‘सिल’ हटाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै झापा जिल्लाकै बाह्रदशी गाउँपालिकाका ६२ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । आइतबार बाह्रदशी ४ का ५० वर्षीय मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि मंगलबार विराटनगरस्थित कोसी कोभिड अस्पताल पठाइएको छ । बुधबार संक्रमित क्षेत्रमा औषधि छर्किने काम गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले बताए । स्थानीयलाई सेनिटाइजर, सर्जिकल माक्स, ग्लोभ्स र साबुनसमेत निस्शुल्क वितरण गरेको उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा गरी ८ सय ४८ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । २ सय २६ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गरिएको छ, जसमा २ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका दमक नगरपालिका ३ का ६२ वर्षीय वृद्ध र बाह्रदशी गाउँपालिका ४ का ५० वर्षीय मुस्लिम धर्मगुरुको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा उपचार भइरहेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया