Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड-१९ सम्बन्धि आयुर्वेद र वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी गरेको जनाएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधीबाट कसरी रोगसँग लड्न सक्ने क्षमता बढाउन सकिन्छ र घरैमा उपलब्ध हुने सामग्रीलाई कसरी प्रयोग गर्न सकिन्छ साथै क्वारेन्टाइनमा रहेको बेला र घरमा अन्य व्यक्ति भएको बेलामा निरासापनलाई कसरी कम गर्न सकिन्छ योगाभ्यास तथा व्यायामका बारेमाका साथै पूनःस्थापनाको कार्यमा आयुर्वेद र वैकल्पिक चिकित्सा विधीबाट सहयोग कसरी गर्न सकिन्छ लगायतका विषयवस्तुहरुको बारेमा सो निर्देशिकामा उल्लेख रहेको मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा देवकोटाले बताएका छन् ।

यस्तै, कोरोना पोजेटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्छ कि भन्ने डरले पनि परीक्षणमा नआएको बताएका छन् । उनले परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने भन्दै संक्रमित हुँदैमा नआत्तिन र संक्रमण देखिएमा आफूले गल्ती गरेको महसुस नगर्न आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा थप ३ जनाको पोजेटिभ देखिएको हो । पर्सा जिल्लाका ४६ वर्षीय पुरुष र बारा जिल्लाका ३१ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु सिमरामा क्‍वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नारायण अस्पालमा उपचाररत छन् ।

कोरोना संक्रमित मध्ये १६ जना निको भइसकेका छन् । बुधबारसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन् ।अहिलेसम्म ५७ हजार १सय ८९ परीक्षण भएका छन् । अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८३ जना रहेका छन्। काठमाडौँ उपत्यका भित्र ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८३ जना रहेका छन्। रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या गत २४ घण्टामा १जना थप गरी ३१० पुगेको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ वटा आरडिटी परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण भएका छन् ।

सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया