Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १६ वैशाख । मौसम सफा हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने महाशाखाले जनाएको हो ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।

वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।

हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।रासस

तपाईको प्रतिक्रिया