Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

पत्रपत्रिका, समाचार

काठमाडौं, १६ बैशाख २०७७ । प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो । केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए।

पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे। समस्या समाधान गर्न प्रधानमन्त्री ओली अहिले प्रयासरत छन्।

उनले यति बेला वरिष्ठ नेता नेपाल पक्षसँग हात मिलाउन चाहेका छन्। त्यसकै लागि उनी आफैं र आफूनिकट नेतामार्फत नेपाललाई फकाउने प्रयास भइरहेको छ। उनले सोमबार पनि नेपाललाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरे। छलफलको निष्कर्ष थियो( मिलेर जाऔं। ओलीले त्यसलगत्तै दुवै पक्षका दोस्रो तहका नेताको सामूहिक छलफल गराएर भए पनि सहमतिको खोजी गरेका थिए।

ओली–नेपाल भेटपछि कोटेश्वरस्थित नेपाल निवासछेउमै रहेको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षका नेताबीच छलफल चलेको थियो। नेपालसहित उनी पक्षधर स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र ओली पक्षका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीबीच त्यहाँ झन्डै ४ घण्टा छलफल भएको थियो।

तपाईको प्रतिक्रिया