Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक, १४ वैशाख । दमकमा एक ६२ वर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार दमक नगरपालिकाका तीन वटा वडाका ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जनामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरुसँगै संक्रमित क्षेत्रका ४४ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

दमक अस्पतालका प्रमुख डा.खड्कलाल लिम्बुको नेतृत्वमा स्वास्थ्यकर्मीको चार टोलीले दमक ३, ६ र ९ नम्बर वडामा स्वास्थ्य परीक्षण गरेको थियो । ३ नम्बरमा ६० जना, ६ र ९ नम्बर वडाका ४/४ जना तथा विभिन्न अस्पतालबाट रिफर गरिएका ६ जनाको स्वास्थ्य परीक्षण गरेको नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।
७४ मध्ये ४४ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको हो । ४५ जनाको आरडीटी गरिएको छ । १३ जनाको आरडीटीपश्चात् थप परीक्षणका लागि स्वाबसमेत लिइएको छ । दमक ३ का ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडालाई शुक्रबार रातिदेखि नै सिल गरेको छ । वृद्धलाई चैत ४ गते दुबईबाट घर आइपुगेका ३३ वर्षीय छोराबाट संक्रमण सरेको स्वास्थ्यकर्मीको दाबी छ ।

विदेशबाट आएका छोराको दुई पटकको आरडीटी परीक्षण पोजेटिभ तथा पीसीआर नेगेटिभ देखिएको छ । विदेशबाट आएका युवक र संक्रमण पुष्टि भएका वृद्धको सम्पर्कमा आएकाहरुको आइतबार आरडीटी परीक्षण गरिएको थियो । संक्रमित वृद्धको घरसम्म आएका सोही वडामा रहेका उनका दाजुको परिवार, भतिजाको परिवार, सालीको परिवार, इटहरीबाट आएकी दिदीसासु तथा वडा नं. ६ र ९ मा रहेका आफन्तहरुको पीसीआरका लागि स्वाब संकलन गरिएको हो ।कान्तिपुर

तपाईको प्रतिक्रिया