Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १४ वैशाख । सरकारले जारी गरेको लकडाउनका कारण करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्न बाध्य नेपाली नागरिकलाई ल्याउने तयारी गरेको छ ।

भारतमा रहेका नेपाली ल्याउनका लागि गृह मन्त्रालयको निर्देशनपछि भारतसँग सीमा जोडिएका जिल्लाले भारतीय पक्षसँग समन्वय गरी नेपाली फर्काउने प्रक्रिया सुरु गरेका छन् ।

सबैभन्दा धेरै नेपाली क्वारेन्टाइनमा बसेको भारतीय जिल्ला पिथौरागढसँग जोडिएको दार्चुलाबाट फर्काउन पहल सुरु भएको छ ।

अझै १५ सय भन्दा बढी मानिस क्वारेन्टाइनमा छन् । जसमा १ हजार दार्चुला सीमामा पर्छन् भने ५ सय बैतडीको सीमा क्षेत्रमा पर्छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नेपाली ल्याउन तयारी गर्न निर्देशन आएको बताए ।

भारतसँग सीमा जोडिएको कञ्चपुर जिल्लामा पनि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई राख्न तयारी सुरु भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले माथिबाट तयारी गर्न मौखिक निर्देशन आएको बताए ।

कञ्चनपुरसँग जोडिएको बनवासा र टनकपुरमा २ सय ५१ नेपाली क्वारेन्टाइनमा छन् । उनीहरुलाई गड्डाचौकी नाकाबाट नेपाल ल्याउने सरकारको तयारी छ ।

सरकारले नेपाली फर्काउन तयारी गरिरहेका बेला शुक्रबार नौतनहवाका तीन वटा क्वारेन्टाइनमा २५ दिनदेखि बसेका २ सय ८२ नेपाली घर फर्किएका छन् ।

उनीहरुमध्ये बाँकेको जमुनाह नाकाबाट १ सय ८१ जना र रुपन्देहीको बेलहिया नाकाबाट १ सय १ जना घर फर्किएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार र हिजो २ सय ९८ जनाले नेपाल प्रवेशको अनुमति पाएको बताए । इमेजखबर

तपाईको प्रतिक्रिया