Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

सुनसरी, १४ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ आईसीयूसहित सय शय्याको कोभिड–१९ अस्पताल आइतबार सञ्चालनमा आएको छ । संक्रमितको संख्या थपिए उपचारका लागि तयारी अवस्थामा बस्न आवश्यक उपकरणसहित छुट्टै कोरोना उपचार केन्द्र बनाइएको हो ।

अस्पतालमा संघीय सरकार र प्रदेश सरकारको करिब १२ करोड ५० लाख रुपैयाँ लागत छ । सरकारले प्रतिष्ठानलाई कोरोनाको तेस्रो तहका रूपमा वर्गीकरण गरेको छ । कोभिड अस्पतालभित्र बच्चाका लागि पेडियाट्रिक आईसीयू, अप्रेसन थिएटर, संक्रमितको उपचार गर्न हाई डिपेन्डेन्सी युनिट, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, गाइनो वार्डलगायत छन् । फास्ट ट्य्राकबाट खरिद गर्ने गरी सिटिस्क्यान र केही भेन्टिलेटरको प्रक्रिया पनि सुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले बताए ।

कोरोनाका बिरामीलाई प्रतिष्ठानको मुख्य इमर्जेन्सी कक्ष, वार्ड, अप्रेसन थिएटरमा नलगी अलग्गै उपचार गर्न बेग्लै अस्पताल बनाइएको उनले जानकारी दिए । ‘कोभिड–१९ अस्पतालमा संवेदनशील संक्रमितको उपचार गर्न ‘डेडिकेटेड’ सिटिस्क्यान, अप्रेसन थिएटर, प्रयोगशाला र एक्सरे मेसिनहरू राख्नुपर्ने भएकाले सोहीअनुसार तयार गरिएको हो,’ गिरीले भने । मृगौलारोगीलाई कोरोना संक्रमण भए डाइलाइसिसका लागि ३ वटा मेसिन मेडिसिन विभागले तयार राखेको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईले आइतबार कोभिड अस्पतालको निरीक्षण गरेका छन् । उनले प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुका रूपमा देखा परे पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । जतिसुकै संक्रमित देखापरे पनि उपचार र व्यवस्थापन गर्न सक्ने गरी क्षमता विस्तार गरिरहेको र प्रतिष्ठानमै अझै थप सय बेडको अस्पताल बनाउन सकिने उनको भनाइ छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया