Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

दमक, १४ वैशाख । झापा दमकका एक ६२ वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमक नगरपालिका वडा नम्बर-३ को जनता चोकका स्थानीयको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

नगरपालिकाले संक्रमित ६२ वर्षीय वृद्धको सम्पर्कमा आएका तथा घर आसपासका करिब ७९ जनालाई पहिलो प्राथमिकतामा राखेर आइतबार बिहान साढे ७ बजेदेखि स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले दमक अस्पतालका प्रमुख डा.खड्कलाल लिम्बूको नेतृत्वमा स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीसहितको ४ वटा छुट्टाछुट्टै परीक्षण टोली गठन गरेर खटाएको छ । चार भागमा विभाजन भई स्वास्थ्यकर्मीको टोलीले स्थानीयबासीसँग सोधपुछ र स्वास्थ्य परीक्षणको काम अघि बढाएको नगरपालिकाका स्वास्थ्य सहायक कुबेर भट्टराईले जानकारी दिए ।

स्वास्थ्यकर्मीले पहिलो चरणमा स्थानीयबासीसँग संक्रमित वृद्धसँगको घुलमिलबारे सोधपुछ गरिरहेका छन् । शंका लागेमा उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने र आरडीटी पनि शंकास्पद देखिए पीसीआर परीक्षणका लागि नमुना संकलन गर्नेगरी काम भइरहेको भट्टराईले बताए ।

संक्रमण पुष्टि भएका वृद्धको घर भएको जनता चोकस्थित बस्ती, संक्रमितको घरमा आएका आसपासका छिमेकी, दमक ६ र ९ नम्बर वडामा रहेका आफन्त तथा उनीहरुको सम्पर्कमा आएकाहरुको पनि पहिलो चरणमा स्वास्थ्य परीक्षण गर्न लागेको भट्टराईले बताए । स्वास्थ्य परीक्षणका लागि शनिबार प्रदेश सरकारबाट एक सय थान (आरडीटी) किट ल्याइएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया