Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, १३ वैशाख । वैशाख महिनामा वर्षासँगै आएको असिनाका कारण बाली तथा फलफुल बिगार्दा असिना, किसानहरुका लागि बाधक बनेको छ। किसानहरुले दुःखले  खेतमा लगाएको मकै, धान,आलस लगायतका बालिहरुमा क्षती पुर्याएको छ। व्यवसायीक रुपमा वा घरायसी प्रयोजनका लागि लगाएका फलफुलमा समेतअसिनाले क्षति पुर्याएको छ।

किसानहरुले बारिमा आँप,लिचि,केरा,कटहर लगायतका फलफुल लगाएका छन्। किसानहरुले लगाएको आँप,लिचि कटहरमा अहिले चिचिला लागेको छ।केही दिन पहिले २/३ पटक हावा पानी सँगै आएको असिनाले आँप र लिचिका चिचिला भुँईमा झारेको छ। केरा तथा कटहरमा असिना लाग्दा फलमा चोट लागेको छ। फागुन महिना लागे सँगै आँप तथा लिचिमा लटरम्मै फुल फुल्दा किसानहरुले यस बर्ष आँप लिचि खान र बढी भएको बिक्री गर्न पाइनेमा आशावादी भएका थिए। केहिदिन अगाडि हावा सँगै बर्षादको जस्तो पानी एक्कासी असिना पर्दा किसानको सपना चकनाचुर भएको छ।

झापाको गौरादहमा गत वर्ष स्याउ फलाउन सफल भएका किसान भिम बिक्रम खड्का पनि यस वर्ष बढी स्याउ फल्नेमा आशावादी थिए। स्याउको बोटमा फुल फुलिसकेपछि असिना आउँदा फुल झरेको छ। गत वर्षको तुलनामा यस वर्ष बढी स्याउ फलाउने दाउमा रहेका भिम बिक्रमको सपना पनि असिनाले चकनाचुर पारेको छ। स्याउको बोट फस्टाएको र बोटमा बाक्लै फुल फुल्दा गत वर्षको तुलनामा दोब्बर स्याउ फल्ने उनलाई विस्वास रहेको थियो ।

बेमौसमी पानी सँगै आएको असिनाले किसानहरुलाई क्षति पुर्याएको छ। गौरादह नगरपालिका वडा नं.२ का मकै खेती गरेका किसान शेषराज भण्डारीले लगातार २र३ पटक असिना आउँदा मकैको बोट तथा बोटमा लाग्दै गरेको घोगामा क्षति पुर्याएको बताए। केही दिन पहिले आएको असिनाले आँपको बोटमा बाक्लै लागेका चिचिला झारेर बोट नै नाङ्गै बनाएको गौरादह२ का किसान लोक बहादुर खड्काले बताए। आँप फुल्नु अगाडि फलमा किरा नलाग्ने औषधि गरेपनि फल लागेपछि असिना आउँदा कलिलैमा आँप बिग्रिएको खड्काले बताए।

सबैतिरबाट समस्यै समस्याको चपेटामा रुमलिएका किसानहरुलाई प्रकृतिले पनि ठगेको गौरादह -२ का अर्का किसान मित्र बहादुर बस्नेत बताउँछन्। धान रोप्ने समयमा रासायनिक मल, आवश्यक किटनाशक औषधि, बिउको बर्षै पिच्छे समस्या झेल्नु परेको छ। किसानहरुले मल लिनका लागि पनि आरामले बस्न पाएका छैनन्। मल आउँछ भनेपछि रातारात सहकारी अगाडि लाइनमा बस्न बाध्य भएका किसानलाई प्रकृतिले समेत सुख नदिएको किसानहरुले बताएका छन। किसानहरुले दुख गरेर लगाएको बालि पाक्ने समयमा कहिले हावा हुण्डरी त कहिले असिना आउदा बालि तथा फलफुलमा क्षति पुगेर नोक्सानी व्योहर्नु परेको किसानहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया