Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १३ वैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन”, उनले भने, “त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड -१९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन)नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा ११ जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड –१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड –१९ को कारणले ज्यान गुमाइसकेका छन् ।रासस

तपाईको प्रतिक्रिया