Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, १३ वैशाख । झापा दमक नगरपालिका का एक ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल गरिएको छ । दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको शुक्रबार राति बसेको आकस्मिक बैठकले उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

दमक–३ निवासी ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उक्त वडाका स्थानीयवासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।
उक्त क्षेत्रका स्थानीयमा कोरोनाको एन्टिबडी परीक्षणका लागि नगरपालिकाले शुक्रबार नै प्रदेश सरकारसँर्ग यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट माग गरेको उनले बताइन् ।

दमकमा एक सय जनाको आरडीटी परीक्षण गर्दासम्म कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थिएन । १०१ नम्बरमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टिबडी पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि विराटनगरस्थित कोशी कोभिड-१९ अस्पताल पठाएको अधिकारीले जानकारी दिइन ।

नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ । इलाका प्रहरीका डीएसपी विजयराज पण्डितले शुक्रबार बिहानदेखि नै भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरेको जानकारी दिए ।

शिविरमा करीब ५ हजार भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् । नगरपालिकाभित्र ४१ जना क्वारेन्टाइनमा छन् । वडा नं. ४ स्थित मानसरोवर कलेजको क्वारेन्टाइनमा २१, दाहाल प्रतिष्ठानमा ६ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया