Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

दमक, १३ वैशाख । झापाको दमकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको जनाइएको छ । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।

उनकी दिदीसासु इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् । काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४/४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा एक महिनाअघि दुबईबाट घर फर्किएका थिए ।

फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत वृद्धका छोरा काठमाडौं झरेका थिए । तीन दिन काठमाडौंमै बसेका छोरा चैत ४ गते बसमार्फत दमक घर आइपुगेका थिए । बिहीबार दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षण गर्ने क्रममा छोरालाई कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो । दुई पटकको परीक्षणमा समेत छोराको एन्टिबडी पोजेटिभ देखिएपछि तत्काल उनकी बुहारी, श्रीमती र उनको पनि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बुहारीको आरडीटी नेगेटिभ देखिएको थियो भने वृद्ध र उनकी श्रीमतीको रिपोर्ट पोजेटिभ आएको थियो ।

चारै जनालाई तत्काल दमक अस्पतालको आइसोलेसनमा भर्ना गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । शुक्रबार बिहान सबेरै चारै जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
दमक नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार दमक अस्पतालको आइसोलेसन वार्डमा २ महिलासहित ७ जनालाई भर्ना गरिएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया