Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बागलुङ, १२ वैशाख । एक महिना लामो आइसोलेसन बसाइपछि पाँचौं कोरोना संक्रमित बागलुङकी १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् । उनको स्वाब परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले बताइन् । उनलाई शुक्रबार राति डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जनाए । त्यसअघि चारपटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन्। गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन्। गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो। चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजेटिभ पुष्टि भयो।

उनीसँगै आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना पोजिटिभ भएको थियो। गत शनिबार पौडेल निको भएर डिस्चार्ज भइसकेकी छन्। पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ।

पोजेटिभ देखिएपछि सापकोटालाई तत्कालै धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो। अस्पतालमा आउँदा कुनै पनि लक्षण नभएपछि दैनिक सकेसम्म धेरै तातोपानी खान लगाइएको थियो।

‘तातोपानी र पौष्टिक आहार खान भन्नुहुन्थ्यो, मैले पनि त्यही गरें,’ उनले भनिन्, माछामासु, अन्डा र दूध पनि नियमित खाएँ।’ पोसिलो खानाले एन्टिबडी निर्माण भए पनि निको भएको हुन सक्ने उनले बताइन्। ‘कुनै पनि लक्षण थिएन, तर पनि चारपटकसम्मको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आयो,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ देखिएकाले नेगेटिभ आउनेमा हामी पनि ढुक्क थियौं।’सापकोटाले गाउँमा गएर सचेतना फैलाउने बताइन्। ‘गाउँमा गएपछि कोरोना संक्रमणविरुद्ध लड्न नियमित तातोपानी खानुपर्ने कुरा सिकाउँछु,’ सापकोटाले भनिन्, ‘ढुक्क भएर नबस्ने, स्वास्थ्यबारे ख्याल राख्ने गर्छु।’

तपाईको प्रतिक्रिया