Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरीगंज, १२ बैशाख २०७७ । कोरोना भाइरस संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेपछि घरेलु हिंसा र अपराधजन्य घटना नगन्य अवस्थामा छन् भने राजस्व संकलन ठप्प भएको छ।

भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा रहेको आठमौजा छोटी भंसार कार्यलयमा लकडाउन भएपछि राजस्व संकलन भएको छैन। आर्थिक बर्ष २०७४।०७५ मा २ लाख २६ हजार ३ सय ८०, आर्थिक बर्ष २०७५।०७६ मा ६ लाख १४ हजार ५ सय १० रुपैयाँ राजस्व संकलन भएको थियो। यस आर्थिक बर्षमा मासिक न्युनतम १८ हजार ९ सय ५९ देखि अधिक्तम ४० हजार ४ सय ८३ सम्म राजस्व संकलन हुँदै आएको थियो।

सरकारबाट लकडाउन गरि सिमाक्षेत्र सिल गरेपछि आवतजावत रोकिदा राजस्व संकलन हुनसकेको छैन। लकडाउन पछि सिमाक्षेत्र सिल गरिदा दक्षिणी क्षेत्रको ब्यापार ब्यबसाय घटेको छ भने संकलन हुने राजस्व गुमेको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारबाट लकडाउन गरिएपछि झापाको दक्षिणी क्षेत्रका पालिकामा हुने गरेका हिंसा तथा अपराध जन्य घटना नगन्य अवस्थामा छन् ।

गौरादह नगरपालिकाको न्यायीक समितिमा लकडाउन भएपछि उजुरीका घटना नआएको न्यायीक समिति संयोजक तथा उपमेयर गीता भेट्वाल बताउछिन् । लकडाउन हुनु अगाडि महिनामा १० देखि १२ वटा सम्म उजुरी आउने गरेको उनले बताइन्।नगरपालिकामा उजुरी गर्न नआएपनि घरमा भने फाट्टफुट्ट एक दुईवटा उजुरी आउने गरेकोमा उनीहरुलाई सम्झाई बुझाई खुसि बनाई पठाएको उपमेयर भेट्वाले जानकारी गराइन।

गौरीगंज गाउपालिकामा लकडाउन अगाडि दैनिक एकदुईवटा उजुरी आउने गरेकोमा लकडाउन पछाडि कुनै प्रकारको उजुरी नआएको गाउँपालिकाका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष दिपिन्द्र थापा बताउँछन्। ईलाका प्रहरी कार्यलयहरुमा प्राय दिनैजसो उजुरी दर्ता गराउन आउने र दुबै पक्षलाई छलफल गराई मिलापत्र गराएर पठाइने गरेको थियो। लकडाउन अगाडि ईलाका प्रहरी कार्यलय गौरीगंजमा दैनिक ३ देखि ५ वटा र ईलाका प्रहरी कार्यलय गौरादहमा पनि एकदुईवटा उजुरीका घटना दर्ता हुने गरेको प्रहरी कार्यलयले जनाएको छ।
लकडाउन भएपछि गौरादह क्षेत्रमा अपराधजन्य तथा घरेलु हिंसाजन्य घटना एकदुईवटा भएको ईलाका प्रहरी कार्यलय गौरादहले जनाएको छ।लकडाउन पश्चात अपराध जन्य घटना एउटामात्र भएको र त्यसलाई छलफलको माध्यमबाट मिलाइने भएपनि घरेलु हिंसाका घटनालाई भने फोनको माध्यमबाटै मिलाइएको ईलाका प्रहरी कार्यलय गौरादहले जनाएको छ।

ईलाका प्रहरी कार्यलय गौरीगंजमा भने लकडाउन पछि कुनै प्रकारका धटना दर्ता भएका छैनन्। लकडाउन भएपछि सवारी साधन नचलेकाले सवारी दुर्घटना भएका छैनन्।चैत ११ गते देखि बैशाख ११ गतेसम्म सरकारले लगाएको लकडाउन अवधिभर गौरीगंज तथा गौरादह क्षेत्रमा अपराधजन्य घट्ना दर्ताको विवरण शून्य छ भने सवारी दुर्घटना पनि भएको देखिदैन।

ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले दिएको जानकारी अनुसार लकडाउन अघि सरदर दिनको ३ देखि ५ वटासम्म घरेलु हिंसाका घटना दर्ता भए पनि लकडाउन पछि एउटा पनि घटना दर्ता नभएको बताए। झैझगडा, लेनदेन, कुटपिट, घरेलुहिंसा, ठगी मुद्दा, लागुऔषध, चोरी लगायतका घटनाहरू लकडाउन अघि अधिकांस दर्ता हुने गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

सिमित स्रोत साधन र जनशक्तिको अधिकतम उपयोग गरि गौरीगंज क्षेत्रको शान्ति सुरक्षा कायम राख्दै आएको भएपनि लकडाउनमा थप सुरक्षाकर्मी थपिएपछि शान्ति सुरक्षा गर्न अझ सहज भएको जानकारी गराए। कोरोना भाईरसको संक्रमणबाट वच्न सबै सचेत भएका कारण समाजमा त्यस प्रकारको अपराधजन्य घटनाहरू नभएको प्रहरी निरीक्षक भट्टराईले बताए।

नागरिकले लकडाउनलाई पूर्ण पालना गरेदेखि कोरोनाको महामरीबाट सजिलै बच्न सकिन्छ। गौरादह क्षेत्रमा लकडाउन अगाडि पनि सवारी दुर्घटना भयावह रुपमा नभएको र लकडाउन भएपछि सवारी दुर्घटना शुन्यमा झरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादहका प्रमुख नारायण प्रसाद भट्टराईले जानकारी गराए। ट्राफिक प्रहरी पोष्ट गौरीगंजका ईन्चार्ज भोजराज चौलागाईका अनुसार गौरीगंज क्षेत्रमा लकडाउन अवधिमा सवारी दुर्घटना एउटा पनि नभएको जानकारी गराएका छन्। लकडाउन अघि गौरीगंज क्षेत्रमा महिनाको सरदर सामान्य दुर्घटना २५ देखि ३० वटा भए पनि लकडाउन यता सवारी दुर्घटना शुन्य रहेको चौलागाईले बताए।

तपाईको प्रतिक्रिया