Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

भद्रपुर, ११ वैशाख । नेपाल-भारत मानिस आवतजावत गर्न नदिन जिल्लाका पाँच वटा मुख्य नाकासँगै चोर बाटाहरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । १४४ किलोमिटरको खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिब १५ सय सुरक्षाकर्मी तैनाथ छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले करिब ४ सय ७५ प्रहरी सीमामा खटाएको छ । गौँडा चोर बाटाहरूको पहिचान गरी प्रहरी कार्यालय झापाले १ सय ५ वटा छाप्रो बनाएर प्रहरी परिचालन गरेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

जिल्लामा इलाका, वडा, सीमा र चौकी गरी २९ वटा प्रहरी कार्यालय रहेको उनले जानकारी दिए । प्रदेशबाट थप जनशक्ति जिल्लालाई पठाएपछि सीमामा १ सय ५ वटा पोस्ट बनाएको उहाँको भनाइ छ । स्थानीय तह र स्थानीयसँग समन्वय गरी चौबिसै घण्टा प्रहरी खटाएको उनको भनाइ छ ।

त्यस्तै सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले सीमा क्षेत्रमा १ सय २८ वटा अस्थायी पोस्ट निर्माण गरेको छ । त्यसमध्ये २२ वटा फरवार्ड पोस्ट रहेको छ । प्रदेशबाट ४ सय ७५ थप जनशक्ति थपिएपछि उनीहरूसँगै ९ सय ३४ जनालाई सीमा नाकामा खटाइएको सशस्त्रका एसपी रेशम कुमार थक्सूले जानकारी दिनुहँदै जिल्लामा ८ वटा स्थायी बिओपी रहेको उनको भनाइ छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा सुरक्षालाई कडाइ गर्न १२ जना इन्स्पेक्टर खटाएको छ । प्रहरी कार्यालय झापाले पाँच र सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले सात जना गरी १२ जना इन्स्पेक्टरलाई सीमा क्षेत्रमा थप परिचालन गरेको बताइएको छ । प्रहरी कार्यालय झापाले पृथ्वीनगर, कोरोबारी, पथरिया, नकलबन्दा र कुमरखोदमा इन्स्पेक्टर खटाएको छ भने सशस्त्र प्रहरीले बाहुनडाँगी, भद्रपुर, महेशपुर, पाठामारी, पन्तपाडा, कुञ्जीवारिको आमगाँछी र गौरीगञ्जमा इन्स्पेक्टर खटाएको छ ।

खोला बगर र खेतमा बाँस, त्रिपाल र टिनले बनाइएका छाप्रोजस्तो अस्थायी प्रहरी पोस्ट बनाएर सुरक्षाकर्मी तैनाथ रहेका छन् ।
भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशनबमोजिम उनीहरू चौबिसै घण्टा सीमामा तैनाथ छन् । खटिएका सुरक्षाकर्मीलाई हाल दैनिकजसो हावाहुरी, चट्याङ, असिनापानी पर्न थालेपछि छाप्रोजस्तो अस्थायी प्रहरी पोस्टमा दुःखले उनीहरू सीमा सुरक्षा गरिरहेका छन् ।

छिमेकी मुलुक भारतमा कोभिड– १९ तीव्र गतिमा फैलिरहेको छ । भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको खुला सीमा झापामा १ सय ४४ किलोमिटर पर्छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये उत्तरको तिरिङदेखि दक्षिणको गौरिगञ्जसम्मको सीमा नाकासँग मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोडिएको छ । सीमा नाकासँग जोडिएको पालिका र स्थानीयको सहकार्य तथा समन्वयमा झापाका प्रहरी, प्रशासन प्रमुखले सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएका छन् । ७ सय मिटरदेखि १ किलोमिटरको दूरीमा सुरक्षाकर्मी खटिएका छन् ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया