Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झगेन्द्र खड्का
गौरादह, ११ वैशाख । झापाका दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकहरु समस्यै समस्यामा रुमलिएका छन। आम नागरिकलाई कोरोना भाइरस लाग्छ भन्ने समस्या, भदै धान लगाएका किसानलाई मलको समस्या, लकडाउनका कारण मजदुरलाई छाक टार्न समस्या, तरकारी खेती गर्ने किसानलाई तरकारी नबिकेर बारिमै कुहिने समस्या, बिरामीलाई उपचार गर्न समस्या लगायतका समस्याबाट नागरिकहरु गुज्रिरहेका छन्।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरि नागरिकलाई भिडभाडमा नजान, अति आवश्यक काम परेर हिड्नु परेमा सामाजिक दुरी कायम गर्न सुचना प्रवाह गरेपनि भदै धान लगाएका किसानलाई त्यसको कुनै प्रवाह परेन। किसानहरु आफू सुरक्षीत भएर सामाजिक दुरी कायम गर्दै युरिया लिनको लागि लाइनमा बसेका हुन्।

भदै धान लगाएका किसानले युरिया मल नपाएर हाहाकार भएको समयमा सहकारी संस्थामा युरिया आएको सुनेपछि वितरण गर्नु भन्दा १२ घण्टा अगाडि देखि नै लाइनमा बस्न बाध्य भएका छन्। गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र रहेका अधिकांश सहकारी संस्थाहरुले किसानका लागि वितरण गर्न युरिया मल बिरगंजबाट ल्याएका थिए।

वैशाख महिनामा असारको जस्तो झमझम पानी परेपनि किसानहरु साँझ ८ बजे देखि नै बेडिङ बिस्तार लिएर सहकारी संस्थाको अगाडि बसेका थिए। उज्यालो भएपछि लाइन बस्न जाँदा युरिया मल नपाइने आशंकामा किसानहरु रातभर सहकारी संस्था अगाडि जाग्राम बस्न बाध्य भएका हुन्। गौरादह नगरपालिका वडा नं.७ ग्वालडुब्बामा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थामा २ सय बोरा युरिया मल आएपनि करिब ६ सय बढी किसानहरु लाइनमा बसेका थिए। सहकारी संस्थाले प्रति किसान २५ केजिका दरले युरिया वितरण गरेको छ। संस्थाले यसपटक ४ सय किसानलाई युरियाको कुपन लाइनमा नै गएर वितरण गरेको छ भने करिब २ सय किसानलाई अर्को पटक युरिया वितरणको लागि नाम टिपोट गरेको छ।

किसानहरु रातभर लाइनमा बसेर हैरान व्योहोरे पनि केही किसानले युरिया नपाउदा गुनासो समेत गरेका छन्। अघिल्लो पटक युरिया लिएका किसानले यस पटक पनि कुपन पाएको, खेताला राखेर एउटै घरमा आवश्यकता भन्दा बढी युरिया लिएको, केही किसानहरुले वर्षे धानका लागि समेत युरिया रिजर्भ गर्दा ढिलो आएका कारण आफुहरुले एक पटक पनि युरिया नपाएको गुनासो गरेका छन्।

लकडाउनको समय भएता पनि सहकारी संस्थाले किसानहरुको समस्यालाई मध्यनजर गरि रासायनिक मल ल्याएर वितरण गर्न सफल भएको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सूर्य भक्त सिटौला बताउँछन्। युरिया मल आयातमा गौरादह नगरपालिकाले सहकारी संस्थाहरुलाई प्रति बोरा २५ रुपैयाँका दरले ढुवानी खर्च दिएको पनि सचिव सिटौलाले बताए।

गौरादह नगरपालिका वडा नं.७ मा रहेको साना किसान कृषि सहकारी संस्था जुरोपानीले युरिया मल वितरणको लागि संस्थामा रहेका समुहहरुलाई जिम्मा लगाएको छ। संस्थाले समुहलाई युरियाका बोरा जिम्मा लगाएको र समुहमा आबद्ध किसानले मिलेर युरिया लिएको संस्थाका अध्यक्ष नवराज लुइँटेलले जानकारी गराए। गौरादह नगरपालिका वडा नं.५ को साना किसान कृषि सहकारी संस्था महारानी झोडाले पनि सहज रुपमा किसानहरुलाई युरिया मल वितरण गरेको संस्थाकि अध्यक्ष मिना ढकालले जानकारी गराइन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया