शनिबार, चैत्र ११, २०७९
Saturday, March 25, 2023

शान्ति सुब्बा
गौरादह, १० वैशाख । कोरोना भाइरस संक्रमणका कारण रोकिएको नियमित खोप कार्यक्रम पुनः संचालन हुने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम फैलिएसंगै त्यसलाई नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु जनचेतनामूलक कार्यक्रम लिएर गाउँ घरमा जाँदा बालबालिकाहरुलाई दिइने खोप कार्यक्रम प्रभावित बनेको थियो।

बच्चा जन्मिएदेखि २३ महिना भित्रमा लगाइने खोप गौरादह नगरपालिका भित्रका ९ वटै वडामा बिहिवारबाट पुन संचालन गरिने गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराईले जानकारी गराए। बालबालिकालाई भविष्यमा लाग्न सक्ने विभिन्न प्रकारका रोगहरु विरुद्ध सरकारी तवरबाट दिइने निशुल्क खोप कार्यक्रम सरकारले लकडाउन गरेसँगै चैत महिनामा रोकिएको थियो।

सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिने भएसँगै गौरादह नगरपालिकाको ९ वटै वडाका २४ वटा खोप केन्द्रमा बिहिबारबाट बालबालिकालाई नियमित रुपमा खोप लगाउने भएको छ। कोरोना संक्रमणको जोखिमका साथै सरकारले गरेको लकडाउनका कारण खोप कार्यक्रम चैत महिनामा रोकिंदा बालबालिकाहरु खोप लगाउनबाट वन्चित भएका थिए।

गौरादह नगरपालिकाले बालबालिकालाई दिइने नियमित खोप सेवा कार्यक्रमलाई पुनः निरन्तरता दिने तयारी गरेको गौरादह नगर स्वास्थ्य सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् । वैशाख ११ गतेदेखि १६ गते सम्म जन्मेदेखि २३ महिना सम्मका बालबालिकालाई खोप लगाइने भएको हो । गौरादह नगरपालिका भित्र १ हजार २ सय ९२ बालबालिकालाई खोप लगाइने श्रेष्ठले जानकारी दिएका छन्। नियमीत खोपबाट बालबालिका वञ्चित भएमा बालबालिकाको इम्युनिटि पावर घट्नुका साथै विभिन्न रोगबाट ग्रसीत हुने र बालमृत्युदर समेत बढ्ने खतरा रहेको बताइएको छ । गौरादह नगरपालिका भित्र २४ वटा खोपकेन्द्रमा खोप लगाउन १० जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी भएको जनाइएको छ ।

नियमित खोप अन्तर्गत वि.सि.जी, डि.पि.टी, पि.सी.भी, जे.इ, एफ.आइ.पि.भी लगाइने गौरादह स्वास्थ्य चौकीका प्रमुख सुरेन्द्र बस्नेतले जानकारी दिए । गौरादहको १, २ र ३ नं. वार्ड मा ५ वटा केन्द्र तोकिएको छ । जस अन्तर्गत वैशाख ११ गते सीतापुरी मा.वि, १२ गते धिमधिमे स्कुल, १३ गते हाँसखोरा प्रा.वि, १४ गते अमर नि.मा.वि र १५ गते गौरादह हेल्थपोष्टमा खोप सेवा दिइने बस्नेतले जानकारी गराएका छन् । खोप लगाउने समय बिहान १० देखि ३ बजेसम्म रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया