Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १० वैशाख । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल उदयपुरका ११ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी दिएपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । उदयपुर जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीय लगायतमा यतिबेला कोरोनाभाइरस संक्रमणको पुष्टी भएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको छ ।

यता, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भएयता देखि नै जिल्ला सिल नै जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताए । संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उनले जानकारी दिए ।

पैदल हिँडेर आएकाहरुलाई पनि सम्बन्धित स्थानीय तहमा बुझाएर क्वारेन्टाइनमा बस्न लगाएको उनले बताए । जिल्लाका अन्य क्षेत्र र अन्य जिल्लामा संक्रमण फैलिन नदिन आफूहरु सचेत ढंगल अघि बढेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया