Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाईनबिचार
१० बैशाख, २०७७ बुधबार
काठमाण्डौं , नेपाल कम्युनिष्ट पार्टीको(नेकपा) अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् । पार्टी भित्रको पछिल्लो अध्यायदेश प्रकरणले सिर्जना गरेको खटपटीलाई लक्षित गर्दै उनले पार्टीिभत्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ भनेका छन् । त्यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७१ औं स्थापना दिवसको सन्दर्भ पारेर अध्यक्ष प्रचण्डले सो विज्ञप्ती जारी गरेका हुन् । वक्तव्यको पूर्णपाठ

प्रेस वक्तव्य
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको छ । यस ऐतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ । कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।
परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो । पार्टी्भित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको छ । तसर्थ, सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील गर्दछु । अन्त्यमा नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
१० वैशाख, २०७७ (२२ अप्रिल, २०२०)
…………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया