Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, ८ वैशाख । मोरङको क्वारेन्टाइनमा बसेका अधिकांश घर फिर्ता भएका छन् । मोरङका विभिन्न सातवटा स्थानमा राखिएको क्वारेन्टाइनमा बसेका अधिकांश घर फर्केका हुन् ।

सात स्थानका क्वारेन्टाइनमा गरी २० महिलासहित २ सय ३ जना बसिरहेका थिए । तीमध्ये १ सय ८७ जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ । अब ५ महिलासहित २५ जना क्वारेन्टाइन बसाइमा छन् ।

१३ जना संक्रमितसहित १८ जनालाई आइसोलेसनमा राखेर उपचार र हेरचाह भइरहेको छ । आइसोलेसनमा राखिएका १९ जनाचाहिँ घर फर्किसकेका छन् ।

मोरङको टाँडीस्थित क्वारेन्टाइनमा १ सय ५५ जना बसेका थिए । त्यहाँबाट १ सय ४३ जना फिर्ता भइसकेको प्रहरीले जनाएको छ । यसैगरी घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्रमा बसेका २३ मध्ये ११ जना घर फर्केका छन् । जहदाको दुर्गा माध्यमिक विद्यालयमा राखिएका दुबैजनालाई घर पठाइएको छ ।

धनपालथानमा बसेका एकजनालाई अझै केही दिन निगरानीसहित हेरचाह गर्नुपर्ने भएकाले क्वारेन्टाइनमै छन् । अमरदहस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट क्वारेन्टाइन बसाइ अवधि सकेर सबै ८ जना घर फर्केका छन् । यसैगरी रंगेली अस्पतालमा रहेका तीनैजना फिर्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै बुढीगंगा गाउँपालिकाको मधुग्राम प्राथमिक विद्यालयमा राखिएको क्वारेन्टानमा ११ जना बस्दै आएकामा सबै फिर्ता भएका छन् ।

विराटनगर १० पस्थत नेशनल ट्रेडिङको भवनमा राखिएको कोभिड १९ उपचार केन्द्रमा १३ जना संक्रमितलाई राखेर उपचार भइरहेको छ । कोसी अस्पतालअन्तर्गत सञ्चालनमा रहेको उक्त केन्द्रमा उदयपुरको एक मस्जिदमा फेला परेका संक्रमितहरुलाई ल्याएर शुक्रबारदेखि उपचार सुरु गरिएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको आइसोलेसनमा राखिएका शंकास्पद संक्रमित २१ जनामध्ये उपचारपछि १६ जना फिर्ता भएका छन् । बाँकी ५ जनालाई अझै केही दिन चिकित्सकको निगरानीमा राखिने भएको छ ।

यसैगरी गोठगाउस्थित पूर्वाञ्चचल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनैजना घर फर्किसकेका छन् । आइसोलेसनमा राखिएका ३७ जनामध्ये १९ जना घर फर्किएको मोरङ प्रहरीले जनाएको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया