Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनबिचार
काठमाडौं, ८ बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले छुच्चो जवाफ फर्काएका छन् ।

आइतबार नेपाल टेलिभिजनमा प्रसारित अन्तकृर्यात्मक तथा वार्तामा उनले यस्तो छुच्चो जवाफ फर्काएका हुन् ।

केही समयअघि अहिलेको कोरोना संक्रमणको खतरासँग जुध्न प्रचण्डले प्रधानमन्त्री ओलीकै नेतृत्वमा उच्चस्तरिय राजनीतिक संयन्त्रको प्रस्ताव गरेका थिए । ओलीले उक्त प्रस्तावलाई अस्विकार मात्रै गरेका छैनन् प्रचण्डलाई ‘मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’ भन्दै छुच्चो जवाफ फर्काएका छन् ।

ओलीको यस्तो जवाफले दुई अध्यक्षबिचको मतभेद बढ्दै गएको देखिन्छ । सामान्य त कुटनीतिक र भद्ररुपमा अस्विकार गर्न सकिने विषयलाई ओलीले जुन रुपमा प्रस्तुती गरे त्यो सामान्य त सुन्ने मानिसहरुलाई समेत नमिठो लाग्ने खालको छ ।

ओलीकै शब्दमा प्रचण्डलाई जवाफ–

आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन् । त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ ? जबकि नेपालको वर्तमान सरकार दुईतिहाइ नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो ।

सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ । सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ । सरकारले उचित समन्वय गरिरहेको छ । सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो ।

अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ ?अनि कुन नागरिक राख्ने वा छुटाउने ? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ । अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।

तपाईको प्रतिक्रिया