Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

शान्ति सुब्बा
गौरादह, ८ वैशाख । स्थानीयले दिएको सूचनाका आधारमा गौरादहबाट ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको उल्लंघन गरी लुकिछिपी जोखिमपूर्ण यात्रा गर्दै गौरादह आएर बसेका उनीहरुलाई आइतबार क्वारेन्टाइनमा पठाइएको हो ।

सरकारले लागु गरेको लकडाउनको समयमा गौरादहमा शंकास्पद नयाँ व्यक्ति आएको भनेर स्वतस्फुर्त स्थानीयबाट जानकारी पाएपछि उनिहरुलाई चेक जाँच गरि क्वारेन्टाइनमा राखिएको गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् । क्वारेन्टाइनमा ३ जना महिला र अर्का एक पुरुष गरि ४ जनालाई राखिएको श्रेष्ठले अनलाइनविचारलाई जानकारी दिएका हुन् ।

गौरादह नगरपालिकाको वडा नं. ३ को खरेल डाँडामा मोरङको दुर्गापुरबाट माइत आएकी एक महिला, सम्बन्ध आमा बताइएकी उनकी आमा र छिमेकी एकजना समेत ३ जनालाई त्यसैगरी गौरादह नगरपालिका कै वडा नं.९ को झमक चौकमा रहेको ससुरालीघरमा इनरुवाबाट आएका मुस्लिम समुदायका एक पुरुष समेत चार जनालाई स्थानीयबासीले प्रहरीलाई दिएको सूचनाको आधारमा उनिहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

सोधपुछका क्रममा दुर्गापुरबाट पाहुना आएकी ति महिला ५–६ दिन अघि मात्र इन्डियाबाट दुर्गापुर आएको र त्यहाँबाट गौरादह आएको जानकारी प्राप्त भएको इप्रका गौरादहका इन्चार्ज बिनोद श्रेष्ठले बताए ।
भारतमा अहिले कोरोनाको संक्रमण महामारीको रुपमा फैलिरहेकोले पनि कोरोना संक्रमणको संभावित जोखिमको आशंकामा उनिहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । तत्कालको प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनीहरुमा चार जनामै कुनैपनि प्रकारको स्वास्थ्य समस्या र कोरोनाका लक्षणहरु नदेखिएको नगरस्वास्थ्य शाखाले बताएको छ ।

उनिहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र सातौं दिनमा उनिहरुको पिसिआर विधिबाट स्वाब परिक्षण गर्न विराटनगर वा धरान पठाइने स्वास्थ्य शाखाका श्रेष्ठले बताएका छन् । उनिहरुलाई नियम अनुसार १४ दिन सम्म क्वारेन्टाइनमा नै राखिने भएको छ ।
अहिले गौरादहको क्वारेन्टाइनमा नयाँ ४ जना व्यक्तिहरु मात्र रहेका छन् । यसअघि पनि भारतबाट आएका एकजना व्यक्तिलाई चैत २२ देखि क्वारेन्टाइनमा राखिएको र कुनै संक्रमण नदेखिएपछि ६ गते घर पठाइएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया