Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ७ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबारे गलत हल्ला फैलाएको आरोपमा इलामको फाकफोकथुम गाउँपालिका-७ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाएको भन्दै २४ वर्षीय सन्दीप योङहाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले शनिबार फेसबुकमा इलामको बिब्ल्याँटेमा एकजनामा कोरोना संक्रमण भेटिएको गलत सूचना पोस्ट गरेका थिए । सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले तथ्यहीन र भ्रामक प्रचार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाममा हालसम्म कोरोना संक्रमित कोही भेटिएको छैन । शंकास्पद बिरामीहरुको परीक्षण भइरहेको छ । तर कसैलाई पनि कोरोना पोजिटिभ भएको पुष्टि भएको छैन । कतिपय क्वारेन्टाइनमा बसिरहेका छन् ।

यस्तो अवस्थामा जनमानसमा गलत हल्ला फैलाएर त्रसित बनाएकाले ती युवकलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । यस्ता खाले आतंकित बनाउने सूचना प्रवाह गर्नेहरुको निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ मा उदयपुरस्थित एक मस्जिदमा बसेका १३ जनामा संक्रमण पाइएपछि विराटनगरस्थित कोसी अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया