Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ६ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।

टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको दावी गरे ।

‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन’, शनिबार बिहान उनले भने । ‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताए ।

स्रोतका अनुसार टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने आफूले कोरोनाभाइरसबारे जनचेतना फैलाएको बताएका छन् ।

आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नहुने बताए ।

स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए ।

तर, उनले त्यसको वेवास्ता गर्दै जनचेतना फैलाउने काममा निरन्तर लागेपछि कारबाही भएको हो । स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिए पनि करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे अनभिज्ञता प्रकट गरे ।रातोपाटी

तपाईको प्रतिक्रिया