Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

विराटनगर, ६ वैशाख । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण पुष्टि भएका १२ जनाको कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको छ । उदयपुरको एक मस्जिदबाट ११ भारतीय र एकजना नेपालीलाई मध्यराति एम्बुलेसन्समा ल्याएर उक्त केन्द्रमा भर्ना गरिएको थियो ।

प्रदेश १ सरकारले स्थापना गरेको उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सुविधासहितको उपचार व्यवस्था गरिएको छ। उदयपुर त्रियुगा नगरपालिका-३ को भुल्केस्थित मस्जिदमा उनीहरुसँगै बसेका अरु चार जनालाई पनि राति नै विराटनगर ल्याइएको छ।

कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्राका अनुसार संक्रमित १२ जनालाई उक्त अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ। संक्रमण पुष्टि नभएका अरु चारजनालाई भने मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको छ।

चिकित्सकका अनुसार सुरुमा उनीहरुको आरडिटी विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको थिएन। पछि कोसी अस्पतालमा स्वाब नमुना परीक्षण गर्दा संक्रमण देखिएपछि थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यहाँको परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको हो।

संक्रमित व्यक्तिहरुको लक्षण अनुसार उपचार गरिने केन्द्रका चिकित्सकले बताएका छन्। उक्त केन्द्रमा खटिएका डा. डेन आचार्यका अनुसार प्रारम्भिक अवस्थाकालाई त्यहीअनुसार उपचार प्रक्रिया सुरु गरिएको छ। अलि सिकिस्त अवस्था भए अक्सिजन दिएर उपचार गरिने अनि अझ समस्या भए भेन्टिलेटरसहितको आईसीयू कक्षमा राखेर उपचार र रेखदेख गरिने अस्पतालले जनाएको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया