Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरीगंज, ५ बैशाख २०७७ । लकडाउनका कारण बजार बन्द भई माछा बिक्री नभएपछि व्यावसायिक रुपमा माछा पालन गर्ने कृषकहरु संकटमा छन् । गौरीगंज गाउँपालिका वडा नं -३ को रिमाल बस्ती र वडा नं -२ को कोरोबारीमा फर्म दर्ता गरि ब्यवसायीक रुपमा माछा फार्म संचालन गरेका कृषक मारमा परेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प हुँदा कृषक तथा व्यावसायि अप्ठेरोमा परेका हुन् । गौरीगंज गाउँपालिका वार्ड नं. ३ को रिमाल वस्तीमा सञ्चालन भएको वेलनेस एग्रीकल्चर प्रा.लि. र सोहि गाउँपालिका वार्ड नं. २ को कोरोवारीमा सञ्चालन भएको नेशनल एग्रो फार्मिङ्ग प्रा.लि.ले उत्पादन गरेका माछा बेच्ने समय भएता पनि बजार बन्दका कारण विक्री हुन सकेका छैनन् ।

वेलनेस एग्रीकल्चर प्रालिले ३५ विघा लिजमा लिएर करिब १५ विघामा २८ वटा पोखरी बनाई माछा पालन व्यवसायी गरिरहेको छ । २०७० सालदेखि माछा पालन व्यवसायि सञ्चालनमा ल्याए पनि हालसम्म फाईदा नभएको फर्मका अध्यक्ष श्याम ढकाल बताउँछन् । बैंकबाट ठूलो परिमाणमा ऋण लिएर व्यवसाय शुरू गरेको र यस वर्षबाट केही फाईदा हुने संकेत देखिएपनि लकडाउनका कारण नसोचेको नोक्सानी बेहोर्नु पर्ने त्रास भएको छ । माछा विक्री पनि नभएको र माछालाई खुवाउने दाना आयात गर्न नसक्दा व्यवसायिक किसानहरु दोहोरो मारमा परेको अध्यक्ष ढकालको भनाई छ ।

चैत्र १ गतेबाट करिब ३ करोड रूपैयाँ बराबरको माछा विक्री गर्ने लक्ष्य राखिएपनि बजार बन्द भएपछि ती माछाहरू पोखरीमै रहेको र दाना समेतको अभाव हुँदा माछाहरू कसरी व्यवस्थापन गर्ने आफू अन्योलमा परेको अध्यक्ष ढकाले बताए ।पोखरीमा भएका माछाहरूलाई दैनिक १५ बोराका दरले दाना खान दिने गरेकोमा दाना अभावका कारण चार बोराको दरले दाना दिने गरेको उनले जानकारी गराए । दाना कम दिदा जुन साईजमा बढ्नु पर्ने हो त्यस अनुरूप नबढ्दा लाखौं रूपैयाँ घाटा हुनुको साथै वैकको ब्याज तिर्न र कामदारलाई तलब दिन नस्कने अवस्था भएको ढकालले बताए।

निकै ठूलो आशा र अभिलाषाका साथ जग्गा लिजमा लिई माछा पालन व्यवसाय सुरू गरेको वेलनेस एग्रीकल्चर प्रालिले माछा उत्पादन गरी बजारमा विक्री गर्न ल्याए पनि सरकारी तवरबाट सहयोग नपाउँदा लगानी नै डुब्ने सम्भावना रहेको उनको भनाई छ ।वेलनेस एग्रीकल्चर प्रालिले २८ वटा पोखरीमा पंघास, नैनी, रहु, कमन कार्प, तिलो पिया, मुङ्ग्री, भाकरी जातका माछाका भुराहरू ६ महिना अघि लगाई अहिले विक्री गर्ने लायकका भएका छन् ।

लकडाउनका कारण बजार बन्द भएपछि वाह्य व्यापारी फर्ममा आउन छोडेका छन् भने स्थानियहरूले व्यक्तिहरूले थोरबहुत माछा खरिद गरेको भरमा पोखरीकमे माछा खपत नहुने स्पष्ट देखिन्छ । यसअघि गाडीमा राखेर माछाहरू गाउँघरमा पुर्याई विक्री गर्ने गरेपनि लकडाउनका कारण गाडी चलाउन अवस्था नभएपछि त्यो पनि असम्भव भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. २ को कोरोवारीमा रहेको नेशनल एग्रो फार्मिङ्ग प्रालिको अवस्था पनि उस्तै छ। करिब २० विघा जग्गाको क्षेत्रफलमध्ये ५ विघामा माछा पोखरी बनाई माछा पालन गरेको फर्मका प्रमुख दिपक गड्तौला बताउँछन् ।उनले पोखरीमा रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, भ्याकुरलगायतका माछाहरू पालेका छन् ।

माछा विक्री गर्ने समय भएता पनि बजार बन्द हुँदा माछालाई दाना खुवाएर पोखरी मै पाल्नु पर्ने बाध्यता रहेको प्रमुख गर्ताैलाले बताए। पोखरीका माछाहरू स्थानिय स्तरमा खपत नहुने र अन्य क्षेत्रका व्यापारीहरू पनि माछा खरिद गर्न नआउने भएकाले माछा व्यवस्थापन गर्न कठिनाई भएको बताए । माछालाई खुवाउने दाना समेत सकिएको र भारतको आन्द्र प्रदेशबाट दाना आयात गर्न असम्भव भएकाले माछा पोखरी मै मर्ने हो कि भन्ने आशंका बढेको बताए ।

माछा विक्री नभए लाखौं रूपैयाँ लगानी गरेर सञ्चालन गरेको फर्म डुब्ने अवस्थामा पुगेको पनि जानकारी गराए । उनको फर्ममा माछा वाहेक हाँस, लोकल कुखुरा, टर्की, र मकै तथा तरकारी खेती पनि सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया