Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पत्रपत्रिका, समाचार

५ बैशाख २०७७
काठमाडौं । खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका हुन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान र कुवेतमा यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन्। यस्तो निर्णयले कैयन् नेपालीले रोजगारी गुगाएका छन्। बिदामा रहेकाहरू घर फर्कन पाएका छैनन्। घुम्न पुगेकाहरू त्यहीँ अड्किएका छन्।

अधिकांश कम्पनी बन्द भएकाले नेपालीहरू कोठामै बसिरहेको र कतिपयको त जागिरसमेत गुमेकाले हातमुख जोर्नै गाह्रो भएको छ। रोजगारी गुमाएका विदेशी नागरिक छिट्टै आफ्नो मुलुक फर्किऊन् भन्ने खुला धारणा यूएईले बाहिर ल्याए पनि अन्य मुलुकले त्यसलाई पछ्याउने भएकाले यसमा सरकारले व्यवस्थापनको बाटो तय गर्न आवश्यक देखिन्छ।

यूएईले बेरोजगार भएका र घर फर्कन चाहने आफ्ना नागरिकलाई फिर्ता लैजान कामदार पठाउने मुलुकलाई आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली पनि स्वदेश फर्कन पाऊँ भनिरहेका छन्। यूएई सरकारको निर्णय सञ्चार माध्यममा आएपछि सरकार अन्योलमा परेको हो। यद्यपि, सरकारलाई भने कूटनीतिक च्यानलमार्फत त्यो प्रकारको कुनै जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘हामी हाम्रा नागरिकबारे गम्भीर छौं। छलफल भइरहेका छन्। सरकार प्रमुख र परराष्ट्रमन्त्रीले पनि सम्बन्धित मुलुकमा कुरा गरिरहनुभएको छ,’ परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भने, ‘यूएई सरकारको निर्णयबारे हामीलाई पत्राचार भएको छैन। यसबारे बुझ्ने काम भइरहेको छ।’

खाडीमा सबैभन्दा बढी नेपाली साउदी अरेबियामा छन्। त्यसपछि कतार, यूएई, कुवेत, बहराइन र ओमानमा छन्। त्यसबाहेक पश्चिम एसियाका अन्य दूतावास इजिप्टअन्तर्गत नै १८ मुलुक (लेवनान, जोर्डन, अफ्रिकी मुलुक) छन्। ती सबै मुलुकमा कोरोना संक्रमित छन्। त्यहाँ पनि सबै मुलुकमा ४० हजार हाराहारीमा नेपाली छन्। त्यस्तै, इजरायलमा पनि साढे ३ हजार नेपाली छन् भने उनीहरू वृद्धालाई स्याहार सुसार गर्छन्। जसकारण जोखिम उत्तिकै छ। इजरायलले साइप्रससमेत हेर्ने हुनाले साइप्रसका नेपाली पनि स्वदेश फर्कन खोजेका छन्।

नेपालले उनीहरूलाई त्यहाँको सरकारसँग समन्वय गरेर व्यवस्थित ढंगले राख्न नसक्ने र पर्कन पनि नदिने अवस्था आए ती नेपाली राज्यविहीनझैँ अनुभव गर्ने अधिकारी बताउँछन्। पश्चिम एसियाका सबै मुलुकमा करिब १५ लाख नेपाली छन्। ती सबैमा करिब एक सय नेपाली संक्रमित भइसकेका छन्।

तपाईको प्रतिक्रिया