Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ४ वैशाख । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएर कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको अन्तर्वार्तामा उनीहरुले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन् ।

नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ ।

उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैसम्म नपाएको एम्नेस्टीले जनाएको छ । कतारी अधिकारीले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुव्र्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् भएको एम्नेस्टीले टिप्पणी गरेको छ ।रासस

तपाईको प्रतिक्रिया