Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ४ वैशाख । सरकारले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ ।

लकडाउन हुनुअघि चैत पहिलो साता वितरण गरिएका सीम कार्डको ट्रेसिङ प्रक्रिया सीसीएमसी–अप्सले सुरु गरेको हो ।

अपरेशनमा खटिएका एक सैनिक अधिकृतका अनुसार टेलिकम्युनिकेशन सेवा प्रदायक एनसेलबाट ४० हजार र नेपाल टेलिकमबाट २० हजार वटा सीम कार्डको नम्बर प्राप्त भएपछि ट्रेसिङ गर्न थालिएको छ ।

तीमध्ये बुधबारसम्म ८ हजार ८ सय २२ वटा सीम कार्डमा सम्पर्क गरेर सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी लिइएको छ । सम्पर्कका लागि प्रारम्भमा ६ जना सैनिक खटिएको भए पनि अहिले बढाएर २५ जनालाई पुर्‍‍याइएको छ ।

यसअघि १ चैतदेखि लकडाउन गरिएको ११ चैतसम्म विभिन्न सेवा प्रदायक कम्पनीबाट वितरण गरिएका सीम कार्डका नम्बर माग्दै अपरेशन सेन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म स्मार्ट सेलको रेकर्ड भने प्राप्त भइनसकेको स्रोतले बतायो ।

लकडाउनअघि चैत महिनामा हवाइ तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्थिति विश्लेषणका लागि अप्सले सीम कार्ड नम्बरबाट टे«स गर्ने विधि अपनाएको हो । हवाई मार्गबाट नेपाल प्रवेश गर्नेको सूची विमानस्थलबाट प्राप्त हुने भए पनि स्थलमार्गबाट आउनेको रेकर्ड नहुने भएकाले पनि यो विधि उपयोगी हुने सैनिक अधिकृतहरुको विश्लेषण छ ।

यो कार्यका लागि सीसीएमसीले कल सेन्टर नै स्थापना गरेको थियो । सेन्टरबाट सीम कार्डका विवरण संकलन गरी विश्लेषण गर्ने काम भइरहेको छ ।

फोन नउठ्दा सैनिक अधिकृत हैरान

सीसीएमसी–अप्सले २७ चैतबाट सीम कार्डको विश्लेषण थालेको थियो । पहिलो दिन अपरान्ह ४ बजेदेखि बिहान ८ सम्म ४ सय ५० वटा नम्बरमा सैनिक अधिकृतहरुले सम्पर्क गरेका थिए । तर, कसैले पनि फोन नउठाएको स्रोतले बतायो ।

दोस्रो दिन २८ चैतमा १२ घन्टा गरिएको सम्पर्कमा ५ सय ६९ वटा कल गरिएको थियो । जसमध्ये ३ सय ६० वटा फोन उठ्यो भने एक जना व्यक्ति विदेशबाट आएको देखिएको थियो । यो अवधिमा २ सय ९ वटा फोन नउठेको पाइएको छ ।

तेस्रो दिन २९ गते बिहान ८ बजेदेखि फोन गर्दा ९ सय १२ वटा सीम कार्डमा सम्पर्क भएको छ । तीमध्ये ६ सय ४७ वटा नम्बर मात्र उठेको थियो भने २ सय ६५ जनाले उठाएनन् । तीमध्ये ५० जना विदेशबाट आएका व्यक्ति थिए ।

चौथो दिन ३० गते एक हजार ६ सय ८ वटा नम्बरमा सम्पर्क भएको देखिन्छ । तीमध्ये ११ सय ६२ जनाले फोन उठाएका छन् भने ४ सय ४६ जनाले उठाएका छैनन् । तीमध्ये विदेशबाट आउने ८ जनामा कोभिड–१९ भाइरसको लक्षण देखिएको थियो ।

स्रोतका अनुसार १ वैशाखमा १४ सय दुई वटा कल भएको थियो । त्यसमध्ये एक हजार १७ जनाले फोन उठाएका थिए भने ३ सय ८५ जनाले फोन उठाएनन् । यो अवधिमा सम्पर्क स्थापित भएकामध्ये ६ जनालाई कोरोनाको लक्षण देखिएको थियो ।

छैठौं दिन २ वैशाखमा २ हजार ३ सय २१ जनासँग सम्पर्क भएको देखिन्छ । तीमध्ये एक हजार एक सय ३२ जनाले फोन उठाएका छन् भने १ हजार १ सय ८९ जनाले फोन उठाएनन् । तीमध्ये १ सय ९ जना विदेशबाट आएका थिए भने एक जनामा कोरोनाको लक्षण देखिएको छ ।

बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समयमा १५ सय ६० वटा नम्बरमा सम्पर्क गर्ने प्रयास भएको छ । जसमध्ये ९ सय ५४ जनाले फोन उठाएका छन् भने ५ सय ६६ जनाको फोन लागे पनि उठेन ।

उनीहरुमध्ये १ सय ६८ जना विदेशबाट आएको देखिएको छ भने दुई जनामा कोरोनाको लक्षण देखिएको छ ।

दोस्रो चरणमा सम्पर्कमा गएका व्यक्तिको ट्रेसिङ

कोरोना संक्रमणको लक्षण देखिएकालाई उपचारका लागि अपरेशन सेन्टरले समन्वय गरिरहेको छ । साथै, निको भएका व्यक्तिको पनि निगरानी भइरहेको छ ।

सेन्टर स्रोतका अनुसार ३० गते सम्पर्क गरिएका भोजपुर, दाङ, बर्दिया, कञ्चनपुर, बागलुङ, मकवानपुर, डोटी र दार्चुलाका एकरएक जनामा कोरोनाको लक्षण देखिएको थियो । तीमध्ये अधिकांश भारतबाट आएको पाइएको छ ।

उनीहरुमध्ये पनि बर्दिया, भोजपुर, दार्चुला र डोटीका गरी चार जना व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । यद्यपि, उनीहरुलाई पनि निगरानीमै राखिएको छ ।

स्रोतका अनुसार १ वैशाखमा कोरोनाको लक्षण देखिएका ६ जनामध्ये कैलालीका एक जना निको भएर घर फर्किएका छन् । डडेल्धुरा, दैलेख, दाङ र कैलालीका ५ जनाको उपचार जारी छ ।

२ वैशाखमा सम्पर्क गर्दा काभ्रे, झापा र दैलेखका एक/एक जनालाई कोरोनाको लक्षण देखिएको थियो । तीमध्ये काभ्रेका व्यक्ति स्वस्थ भइसकेका छन् ।

यदि कसैमा कोरोनाको संक्रमण देखिए दोस्रो चरणको योजना अनुरुप उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिबारे पनि विवरण संकलन र विश्लेषण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले पनि कोरोना संक्रमित व्यक्तिको छुट्टै कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया