Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

मोरङ, ३ वैशाख । प्रदेश १ सभाको हिउँदे अधिवेशन आज(बुधबार)बाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच कोरोना भाइरस संक्रमण फैलिरहेका कारण लकडाउन लम्बिदै गएको र वर्षे अधिवेशनको पनि समय आउन लागेकाले हिउँदे अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

सरकारले २५ जनाभन्दा बढी एक ठाउँ भेला हुन रोक लगाएपछि चैत ६ गते सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि स्थगित गरेका थिए। हिउँदे अधिवेशनमा ६ वटा विधयेक दर्ता भएका थिए। ती मध्य प्रदेशको वातावरण संरक्षण विधेयक पारित भयो।

मुख्यमन्त्री शेरधन राईले हिउदे अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउने प्रतिवद्धता जनाएको भएपनि कोरोना भाइरसका कारण नामकरण हुन सकेन। अधिवेशन गत माघ २३ गते सुरु भएको थियो।

जनसुरक्षा कोषमा थप १५ करोड बजेट

मन्त्रीपरिषदको बैठकले कोरोना जनसुरक्षा कोषमा थप १५ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ। यसअघि कोषमा १० करोड बजेट बिनियोजन भइसकेको छ। सरकारले कोषमा दिएको बजेटसँगै बिभिन्न संघ, संस्था, कर्मचारीलगायतले गरेको सहयोग रकम खर्च भइसकेकाले थप बजेट विनियोजन गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए।

बैठकले यस प्रदेशका क्यान्सर रोगबाट पिडित दुई जनालाई आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ। सोलुखुम्बुको खुम्बुपासङ गाउँपालिकाका अध्यक्ष हिमदोर्जी शेर्पालाई ५ लाख र पत्रकार कमल पौडेललाई ३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए।

संघीय सरकारबाट हस्तान्तरण भएको मेची पर्यटन प्रवद्र्धन समितिको कार्यालय सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया