Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

राजविराज, २ वैशाख । उद्योगपति तथा समाजसेवी सीताराम कावराको निधन भएको छ । सप्तरीमा पहिलो राइस मिल स्थापना गर्ने सप्तरी उद्योग बाणिज्य संघका संस्थापक सीताराम कावराको ९६ वर्षको उमेरमा निधन भएको हो । बि.स.१९८१ बैशाख १ गते जन्मेका वरिष्ठ उद्योगपति काबराको आफ्नै निवास सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ मा निधन भएको र मङ्गलबार दाहसंस्कार हुने परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको रूपनगरमा पहिलो राइस मिल स्थापना गरेसँगै उद्योग तथा व्यापार थालेका काबराले उद्योग व्यवसाय बढाएर अहिले विभिन्न ठूला उद्योग स्थापना गरेका छन् । क्वालिटी बिस्कुट, चाउचाउ, साबुनलगायतको उनको उद्योग रहेको छ ।

उद्योग व्यवसायका साथ समाजसेवीका रुपमा काबरा स्थापित थिए । सामाजिक र धार्मिक कार्यमा सक्रिय काबरा विपद्को बेला सहयोग गर्न अग्रपंक्तिमा रहन्थे । विभिन्न मन्दिर तथा धर्मशाला निर्माणका साथै आगलागी, बाढीलगायतका विपद्को बेला उद्योगी कावरा सहयोगी थिए ।

क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक तथा सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कावरा लामो समयदेखि अस्वथ्य थिए । काबरा वि.स. २०२१ देखि २०२९ सालसम्म सप्तरी उद्योग बाणिज्य संघको अध्यक्ष रहेका थिए । उद्योगपति कावराका चार छोरा र दुई छोरी छन् ।

उद्योगपति काबरा सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रीराम काबरा र उद्योग संगठन मोरङका पूर्व उपाध्यक्ष नवलकिशोर कावराका पिता हुन् । अन्नपूर्णपोष्ट

 

तपाईको प्रतिक्रिया