Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइन बिचार 
काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाहा र सुझावमात्रै दिएको र दवाव नदिएको बताएका छन् ।

एक टेलिभिजनमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय संकटको अवस्थामा राष्ट्रिय सहमतिका लागी स्वंयम प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलिय सयंन्त्रको प्रस्ताव गरेको भएपनि त्यो मान्ने नमान्ने प्रधानमन्त्रीको कुरा भएको र आफ्नो दवाव नभएको बताएका छन् ।

उनले आफु भए संयन्त्र गठन गर्थे भन्दै सबैलाई एकजुट बनाएर लैजानु नै मुलुकको हितमा हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रिय संकटका बेला सबै पक्षबीच विश्वास र सहमतिको वातावरण आवश्यक हुने कुरामा जोड दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनका लागि ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने वा नगर्ने निर्णय प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने बताए ।

प्रचण्डले कोरोना संक्रमणविरुद्ध लड्न सबै दल एकबद्ध हुन संयन्त्रको कुरा गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरको बताए । संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएकाले अब त्यसमा थप बहस गर्न आवश्यक नभएको दाहालको भनाई छ ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको र त्यस्तो कुनै आवश्यकता पनि नरहेको बताए ।

अन्तर्वार्ताका मुख्य अंश

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विपत्तीमा राष्ट्रिय सहमति आवश्यक

हामीले देशमा ठूला ठूला परिवर्तन पनि राजनीतिक सहमति र समझदारी अनि राष्ट्रिय सहमति र समझदारीका आधारमा नै गर्न सफल भएका हौं । यसमा राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको उल्लेख्य भूमिका छ । यसमा मेरो के भूमिका छ भन्ने कुरा इतिहासले र जनताले मूल्यांकन गर्ने कुरा हो ।

मैले त्यो सहमति बनाउन र ऐतिहासिक परिवर्तनतर्फ देशलाई लैजान भूमिका खेल्ने अवसर पाइएकोमा गर्वको महसुस गर्दछु । यो बीचमा भूकम्पदेखि बाढी पहिरो जस्ता ठूला विपत्ती आए । यो अवस्थामा कहिले प्रधानमन्त्री त कहिले विपक्षी दलको नेताको रुपमा मैले सहमतिका लागि प्रयास गर्दै आए । संविधान घोषणा गर्ने कुरा पनि निकै चुनौतीपूर्ण थियो । दलहरुबीच सहमति नभई यो सम्भव थिएन । तर त्यतिबेला मैले यो परिवर्तनका लागि ठूलो जोखिम र आन्दोलनको नेतृत्व गरेको नाताले भूमिका खेले । कतिलाई प्रधानमन्त्री त कतिलाई राष्ट्रपति तपाई नै बन्नुस भनेर पनि सहमतिमा ल्याइयो । त्यसपछि संविधान कार्यान्वयन हुन्छ कि हुँदैन, निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने ठूलो चुनौती थियो । मधेश, हिमाल र पहाडका सबै जनता सहभागी हुन्छ कि हुँदैन भन्ने ठूलो चिन्ता थियो । तर मैले दोश्रोपटक प्रधानमन्त्री हुँदा सबैलाई सहमतिमा ल्याएर अगाडि लैजान सफल भएँ ।

अहिले यो कोरोना महामारी फैलिएको छ । यो मानव जातिकै इतिहासमा एउटा ठूलो चुनौती थपिएको छ । यसबाट शक्तिशाली र विकसित भनेका देशहरुलाई नै आक्रान्त पारेको अवस्थमा यसले धेरै प्रश्न उठाएको छ । राजनीतिक प्रणाली, विकासको मोडेल, अर्थराजनीति, भूमण्डलिकरणको स्वरुप, जीवनशैली जस्ता क्षेत्रमा प्रश्नमा उठाएको छ । यसले सोच्ने, चिन्तन गर्ने र मानव जातिलाई नयाँ विश्व व्यवस्था कायम गर्न, नयाँ मानवीय सम्बन्धलाई निर्माण गर्न मद्दत गर्छ भन्ने मलाई लाग्छ । यो अवस्थामा यसलाई परास्त गर्न समेत राष्ट्रिय समझदारी, सहमति र एकताको कुरा मैले गरेको हो ।

प्रम ओली र प्रचण्डको सम्बन्ध

प्रधानमन्त्रीसँग कुनै विमती भएको देख्दिन । हामी सबै मिलेर यो महामारी मिलेर लड्नु पर्छ भन्ने कुराको संकल्प लिनुपर्दछ । अन्य विषयमा कहिलेकाहिँ देखा पर्ने बहस र विवादलाई अगाडि ल्याउन म अहिले चाहन्न । यो पार्टी एकताको ठूलो अभियानमा हामी दुबै अध्यक्षले नै पहल गरेका हुँदा हामीबीच असमझदारी छ भन्ने कुरा गलत हो ।

यो बीचमा भएका राम्रा काम र कमीकमजोरीको समीक्षा गर्नुपर्छ । हामीले जे भनेर चुनाव लडेका थियौं, सुशासन, विकास र समृद्धि जे भनेका छौं त्यही उद्देश्यमा अटल रहनुपर्दछ । तर यी सबै विषयको समीक्षा गर्ने बेला अहिले होइन । अहिले कोरोनाविरुद्ध विजय हासिल गर्न सबै शक्ति लगाउनु पर्छ ।

हामीबीच मूलभुतरुपमा समझदारी छँदैछ । नत्र एकता नै हुँदैनथ्यो । अस्तीको सचिवालयमा पनि हामीले कोरोनाविरुद्ध राष्ट्रिय समझदारी, सहमति र सबै पक्षलाई विश्वासमा लिएर अघि बढनुपर्छ भन्नेमा सबैको सहमति थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्र

मैले राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भममा प्रमको नेतृत्वमा संयन्त्र बनाउन सकिने कुरा गरेको हो । साथसाथै मुख्य कुरा सरकार हो र सरकारको संयन्त्रले नै काम गर्नुपर्छ भन्ने कुरामा हामी कोही पनि असहमत छैनौं । हामीले विपत्ती र संकटको बेला प्रमुख प्रतिपक्षलगायत सबैलाई पनि विश्वासमा लिएर जानुपर्छ भनेर भनेको हो । म भएको भए त्यसो गर्थे । तर अहिले सरकार अर्को अध्यक्षको नेतृत्वमा छ, वहाँलाई जे सजिलो लाग्छ त्यही गर्ने हो । मुख्य कुरा राष्ट्रिय सहमतिबाट यस्ता समस्यालाई जित्न सकिन्छ भन्ने हो ।

सरकारले नै गर्ने हो । मुख्य जिम्मा सरकारको नै हो । राष्ट्रिय सहमति, पारदर्शीता र विश्वासका आधारमा यो महामारीविरुद्ध लड्ने हो । अब त्यो कति भयो भएन त्यो जनताले समीक्षा गर्छ । म अर्को अध्यक्ष भएको नाताले लकडाउन लगायतका विषयमा सरकारले रोकथाम गर्नका लागि गरेको पहल ठीकै छ । तर भोली अवस्था बिग्रेको खण्डमा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक हुनसके राम्रो हुन्छ भन्ने मेरा भनाई हो ।

यो बीचमा मिडियामा थुप्रै कुरा आएका थिए । औषधीदेखि उपकरण खरिदका कुरा थिए । यही बीचमा सचिवालयको बैठकमा कुरा उठ्यो । हामी सबैले प्रधानमन्त्रीलाई र प्रधानमन्त्री आफैले पनि यो के के भएको हो, म छानबीन गर्छु र दोषीलाई कार्वाही गर्छु भन्नु भयो । हामीले ल ठीकै छ र त्यो जिम्मा पनि प्रधानमन्त्रीकै हो भन्ने कुरा भएकोले हामीभित्र त्यस्तो कुनै विमति या असहमति छैन । मान्छेहरुले कृत्रिम ढंगले विमती छ भनेर प्रचार गरेको छ भने त्यो सत्य हुँदैन ।

प्रधानमन्त्री बन्ने चर्चा

म केपी ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने सहमतिबाट पछाडि हटेको छैन । अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । यो कुरा टुंगिसकेको कुरा हो । म प्रधानमन्त्रीका लागि चलखेल गर्न खोजेको कुरा मनोगत कुरा हो । बनको बाघले खानु काँ छ, काँ छ, मनको बाघले खायो भनेजस्तै हो ।
अहिले हामी सबै कोरोनाविरुद्धको संघर्षमा छौं । नेपालले विजय प्राप्त गर्छ भन्ने कुरामा विश्वास गर्दछौं । अहिले रोकथाममा जोड दिएका छौं । नियन्त्रण र उपचारका लागि प्रयासरत रहेका छौं । हाम्रोभित्र राम्रो एकता छ, राम्रो एकता हुनुपर्छ । म चाहिँ पार्टीलाई अझ एकताबद्ध गर्ने र देशलाई अझै एकताबद्ध बनाउने कुरा बोल्दै सकेको योगदान गरि नै रहन्छु ।

जनताको पीडा र राहत वितरण

विश्वव्यापी बिस्तारको अवस्था हेर्दा र नेपालको पछिल्लो अवस्था हेर्दा जतिसुकै अवस्था भएपनि लकडाउनलाई मुख्य हतियारका रुपमा प्रयोग गर्नैपर्ने देखिन्छ । अझै धैर्यता लिने र पीडा भोग्नैपर्ने अवस्था छ ।

तर यसो गर्दा हुनसक्ने जति व्यवहारिक बन्ने र जनताको पीडा खासगरी तल्लो वर्गको समस्या सम्बोधन गर्ने र केही मानिस जो शहर बजारबाट घर जान चाहन्छन् उनीहरुलाई उच्च सतर्कताका साथ घर जाने व्यवस्था मिलाइदिने, कृषकहरुको समस्या नीतिगत निर्णयसहित व्यवहारिक बन्नुपर्छ । यसो गरियो भने नेपाली जनताले हामीलाई साथ दिन्छ । नेपाली जनता धेरै दुख झेलको जनता हो । यस्ता विषयमा नेपाली जनता सबैभन्दा सचेत जनतामा पर्छन् ।

राहत र जनताले भोग्नु परेको समस्याका बारेमा मेरो ध्यान गएको छ । दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब र तल्लो बर्गका जनतालाई सही तरिकाले राहत वितरण गर्नुपर्छ भनेर भनेका छौं । हामी सबैले सहयोग गर्नुपर्छ । यो महामारीका कारण धेरै पीडा भोग्नु परेको छ । भावुक हुने गरेको छु । ती सबै जनताप्रति मेरो विशेष सहानुभूति छ । यस्तो बेला नीजि व्यवसायीलाई अगाडि आउन र मजदूर निमुखहरुलाई अलि मुठी खोल्न अनुरोध गर्दछु । के रहेछ र धन भन्ने कुरा भूकम्पको बेला देखियो । हामी सबै भागाभाग भएर चौरमा टेन्टमा बस्न पुग्यौं । अहिले पनि मान्छेमात्र एकता होउ, धनी छु भनेर घमण्ड नगर, अहंकार नगर, तिमी केही होइनौं भनेर कोरोनाले शिक्षा दिए जस्तो लाग्छ । त्यसैले यस्तो बेला नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्छ भनेर मैले अपील गर्दछु ।

विदेशमा अलपत्र नेपालीका बारेमा

संसारभरि छरिएर बसेका नेपालीहरुले यो सम्सयालाई गम्भीररुपमा झेल्नुभएको छ । हामी नेपाली हुनुको नाताले नेपालीलाई कतै पनि समस्या पर्यो भने नेपाल सरकारको, नेपालो राजनीतिक नेतृत्वको र नेपाली जनताको दायित्व भनेको उनीहरुको सहयोग गर्ने हुन्छ । कतिपय देशले देश फर्केर जाउ भनेर भनिरहेका छन, त्यो अवस्थामा हामीले कुनै न कुनै उपाय सोच्नैपर्छ । पार्टी, सरकारले सौच्नैपर्ने हुन्छ । हाम्रो दायित्व छ । अर्कोतर्फ विदेशमा बसेका नेपालीहरुले पनि अनुशासन पालना गरेर आफ्नो दायित्व पालना गर्नैपर्छ । यसलाई सामूहिकरुपमा मिलेर समस्याको समाधान गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया