Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १ वैशाख । कोरोना भाइरस (कोभिड-१९)को जोखिमका कारण पूर्वी तराईका जिल्लामा सोमबारदेखि सुरु हुने सिरुवा पर्व यस वर्ष सामूहिक रुपमा नमनाउन राजवंशी विकास प्रतिष्ठानले आग्रह गरेको छ ।

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन गरेकाले यस वर्ष सिरुवा पर्व सामूहिक रुपमा नमनाउन आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले बताए ।

सिरुवा आदिवासी समुदायको महान् चाड भए पनि यस वर्ष हर्षोल्लासका साथ नमनाउने बताउँदै, सिरुवा मनाउँदा कोरोनाका कारण आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग रहन आग्रह गरिएको राजवंशीले बताए ।

सिरुवा पर्व पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका समुदायले सामूहिकरुपमा तीन दिनसम्म मनाउँदै आएका छन् ।

सिरुवा पर्व सामूहिक रुपमा मनाउँदा भीडभाड हुने भएकाले सामूहिक रुपमा नमनाउन आग्रह गरिएको अध्यक्ष राजवंशीले बताए । सिरुवा पर्व तीन दिनसम्म मनाउने प्रचलन छ। वैशाख १ मा पानी सिरुवा, २ मा काद सिरुवा र ३ मा रङ सिरुवा गरी सामूहिक रूपमा मनाइने गरिन्छ ।

कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरू यस वर्ष स्थगित गरिएको छ । अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया