Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरीगंज, ३० चैत्र । भारत संग सिमाना जोडिएको गौरीगंज गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा दिनप्रतिदिन संख्या थप भइरहेको छ।

भारतीय क्षेत्रबाट नेपाल तर्फ प्रवेश गर्ने जो कोहिलाई क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय गरेपछि क्वारेन्टाइनमा संख्या थपिएको हो। नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउदै लकडाउन अवधिभर सबै नागरिकलाई घरमा बस्न आव्हान गरेको थियो।

गौरीगंज गाउँपालिकामा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनमा क्वारेन्टाइन स्थापना गरेको छ। भारतीय क्षेत्रबाट नेपाली भुमिमा प्रवेश गर्नेलाई घरमा जान नदिई क्वारेन्टाइनमा राखिएको छ।छिटफुट रुपमा वैकल्पिक मार्ग प्रयोग गरि नेपाल प्रवेश गरेकाहरुलाई स्थानीय बासिहरुले दिएको सुचनाका आधारमा छानबिन गरि उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

नेपाली नागरिकहरु भारतमा रहेका आफन्तलाई भेटेर फर्कने सबैलाई स्थानीय सरकारले कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा निगारानीका लागि राखेको हो। भारतीय बजारमा किनमेल गरेर फर्कने,उपचार गरेर फर्कने,आफन्तलाई भेटेर फर्कनेहरु सबैलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएको हो। भारतीय भुमिबाट नेपालतर्फ फर्कदा क्वारेन्टाइनमा राखिनेको संख्या हाल सम्म १७ जना पुगेको छ।

लकडाउन गरिएको सुरुवाती समयमा भारतीय भुमिबाट नेपाल प्रवेश गर्नेहरुलाई होम क्वारेन्टाइनमा निगारानीका साथ राखिएको थियो। यसरी होम क्वारेन्टाइनमा रहनेको संख्या ९८ जना पुगेका थिए। भारतीय क्षेत्रमा कोरोना भाइरसको संक्रमण र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि नेपालतर्फ सिमावर्ती क्षेत्रमा कडाइ गरिन थालिएको हो। सिमावर्ती क्षेत्रको गौरीगंज गाउँपालिकामा कडाइ गरिदा पछिल्लो समयममा क्वारेन्टाइनमा बस्नेको संख्या हवात्तै बढेको हो। गत एक सातामा यो संख्या बढेर १७ पुगेको हो।

बिहिवार ५ जनालाई क्वारेन्टाइनमा राखिएकोमा शुक्रवार विहान ३ जनालाई थप गरिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या ८ पुगेको थियो। गौरीगंज गाउँपालिका वार्डनं. ४ को अल्तावारी बस्ने ती ३ जना महिलाहरू भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेको गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए। त्यसैगरी शनिबार एकै दिन ८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। गौरीगंज गाउँपालिका वडा नं.१ देविगाढा बस्ने ८ जना भारतमा रहेका आफन्तलाई भेटेर फर्किएका हुन्।

नेपाल भारत सिमा नजिकबाट उनिहरुलाई प्रहरीको सहयोगमा क्वारेन्टाइनमा राखिदा यो संख्या बढेर १६ पुगेको हो। आइतबार पनि एक जनालाई क्वारेन्टाइनमा थप गरिएको छ। गौरीगंज गाउँपालिका वडा नं १ अल्तावारी बस्ने एक महिला भारतमा रहेकि छोरिलाई भेटेर फर्किएकि हुन्। उनी सहित ११ पुरुष सहित ६ महिला गौरीगंज क्वारेन्टाइनमा रहेका छन्। कोरोना भाईरसको संक्रमण हुन सक्ने आशंकामा उनीहरुलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएको गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए।

तपाईको प्रतिक्रिया