Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पाँचथर, २९ चैत्र । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण (¥यापिड डाइग्नोष्टिक टेष्ट) शुरु भएको छ । प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरु गरिएको हो ।

किट आज अबेर आइपुगेकाले आठ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा रहेको क्वारेन्टाइनमा बसेका सात तथा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका एक जनाको शीघ्र परीक्षण सम्पन्न भएको हो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिए ।

पाँचथरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट दुई तथा जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मी शीघ्र परीक्षण कार्यमा सहभागी छन् । आइतबारदेखि भने दुई टोली निर्माण गरी क्वारेन्टाइनमा रहेका, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका व्यक्तिको शीघ्र परीक्षण गरिने सुवेदीले जानकारी दिए ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशका सबै जिल्लामा शीघ्र परीक्षणको प्रबन्ध मिलाइएको छ । यसका लागि शनिबार तथा आइतवारदेखि सबै जिल्लामा परीक्षणको काम शुरु हुनेछ । पाँचथरमा भने सोमबारसम्ममा क्वारेन्टाइनमा बसेका, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका व्यक्तिको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा कोशी अञ्चल अस्पताल विराटनगरमा पिसिआर विधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिरहेको छ । प्रदेश सरकारले एक हप्ता आसपासमा पाँच हजार व्यक्तिको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्री आङ्बोले बताए ।

शीघ्र परीक्षण गरी नेगेटिभ नतिजा आएका व्यक्तिलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरी क्वारेन्टाइनबाट पठाउने गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुवेदीले बताए । शीघ्र परीक्षण विधिबाट बढीमा पाँच मिनेटमा एक प्यक्तिको डाइग्नोष्टिक परीक्षण पूरा हुने स्वास्थ्यकर्मीको भनाइ छ । शीघ्र परीक्षणपछि क्वारेन्टाइनमा रहेका तथा तिनका परिवार र स्वास्थ्यकर्मीमा रहेको त्रास कम हुने सरकारी निकायको विश्वास छ ।
पाँचथरमा आज साँझसम्म विदेशबाट आएका ६० जना तथा तिनको सम्पर्कमा आएका परिवारका सदस्य क्वारेन्टाइनमा छन् ।

सङ्क्रमितसँगै आएकाको नतिजा नेगेटिभ

फ्रान्सबाट आएकी कोरोना भाइरस सङ्क्रमण भएकी युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका यहाँका दुई युवाको नतिजा पनि नेगेटिभ आएको छ । फिदिम नगरपालिका–६ का एक तथा फाल्गुनन्द गाउँपालिका–१ का एक युवा सङ्क्रमित युवतीसँगै नेपाल फर्केका थिए । उनीहरुलाई मोरङको मिक्लाजुङस्थित क्वारेन्टाइनमा राखी स्वाव परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएपछि घर फर्काउन लागिएको आर्थिक मामिलामन्त्री आङ्बोले जानकारी दिए ।

यस्तै कोरोना भाइरससँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएपछि मोरङकै क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरिएका मिक्लाजुङ गाउँपालिका–८ का एकै परिवारका चार जनाको नतिजा पनि नेगेटिभ आएको छ । पाँचथरमा यसअघि आइसोलेशनमा राखी नौ जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको थियो ।रासस

तपाईको प्रतिक्रिया